काठमाडौँ । संघीय सरकारको आगामी वर्षको बजेटमा सप्तकोसीको खानेपानी धरान ल्याउने योजनासहितको एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना समेटिएपछि कार्यपालिका बैठकले समन्वय तथा पहल गर्न एक समिति गठन गरेको छ।

धरानको बिहीबार बसेको कार्यपालिका बैठकले मेयर हर्क साम्पाङको नेतृत्वमा ५ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो। उक्त पहल गर्ने समितिको सदस्यहरूमा वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण), वडा नं १३ का अध्यक्ष नेत्र काफ्ले र वडा ४ का अध्यक्ष धनबहादुर कुलुङ राईलाई बैठकले चयन गरेको छ। यो समितिले छिमेकी बराह क्षेत्र नगरपालिका र अन्य निकायहरूमा सप्तकोसीको खानेपानी धरान ल्याउनको लागि आवश्यक समन्वय तथा पहल गर्नेछ।

संघीय सरकारका अर्थमन्त्री प्रकाश शरण महतले सोमबार संसद्मा प्रस्तुत गरेको बजेटमा धरान र भरतपुरमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुरु गर्ने उल्लेख छ। खानेपानी मन्त्रालय मातहतको खानेपानी तथा ढल व्यवस्थापन विभागले सप्तकोशीबाट पानी ल्याउने गरी डिपिआर तयार गरिरहेको छ।

धरानको खानेपानी समस्या समाधान गर्न सप्तकोशीबाट पानी ल्याउनुपर्ने मेयर साम्पाङको पहिलो चुनावी एजेण्डा थियो।

 

प्रकाशित मिति: १९ जेष्ठ २०८०, शुक्रबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com