काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाणले काठमाडौं जिल्ला अदालतको २५ नं इजलासमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेसमक्ष शुक्रबार बयानका क्रममा यो प्रकरणमा आफूलाई अनावश्यक रुपमा मुछिएको दाबी गरे ।

खाणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र ललितपुर निवासी हरिभक्त महर्जनको बयान शुक्रबार सकिएको छ । शुक्रबार बिहान ११ देखि साढे ५ बजेसम्म बयान लिइएको थियो।

खाणको पक्षले शुक्रबार ढिलाइ गर्न खोजे पनि न्यायाधीश र इजलास अधिकृतले रातिसम्म भए पनि बयान सकाएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ३० जनालाई प्रतिवादी बनाएकोमा १८ जना पक्राउ परेका छन् । १२ जना फरार छन् । १५ जना प्रतिवादीसँग बयान लिइसकिएको छ । शुक्रबारसम्म सबैको बयान सकिएपछि आइतबारदेखि थुनछेक बहस सुरु हुने भएको छ ।

बयानमा खाणले आफ्नो राजनीतिक इतिहास जोड्दै बयानमा भनेका छन्-

प्रजातन्त्रको लागि संघर्ष गर्दा विभिन्न समयमा जेलनेल पनि गएको छु । राष्ट्र, राष्ट्रियता, राष्ट्रहित र राज्यविरुद्ध सोच्न पनि सक्दिनँ । म गाउँबाट आएको एउटा व्यक्ति आफ्नो मेहनत राष्ट्र र जनताप्रतिको समर्पण र प्रजातन्त्रप्रतिको प्रतिबद्धताले उठेको मान्छे है । विद्यार्थीकालमा त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको सभापति निर्वाचित हुँदै नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्षको जिम्मेवारी, जनान्दोलन २०४६ को समयमा सम्हालेको हुँ । मैले २०५४ सालमा नेपाल तरुण दलको केन्द्रीय सभापतिको सम्हालेको हुँ ।

म २०४८ सालमा प्रतिनिधिसभाको सदस्य २०६४ साल र २०७० संविधानसभाको सदस्य, २०७४ मा प्रतिनिधिसभाको सदस्य तथा विभिन्न मितिमा चार पटकसम्म मन्त्रीको जिम्मेवारी सम्हाले मौका पाएँ । मैले चौथो पटक मन्त्रीको जिम्मेवारी सम्हाल्दा संविधान र कानूनको पालना गर्दै देशमा शान्ति व्यवस्था र अमनचयन कायम गर्ने भूमिका निर्वाह गरेको विभिन्न कारण नियमित सेवा गरिरहे पनि राज्यबाट उपचार खर्चसमेत लिएको छैन । म धार्मिक प्रवृत्तिको व्यक्ति हुँ । जनतालाई झुक्याउने अनुचित लाभ लिने कुनै कार्य गर्नेबारे सोच्न पनि सक्दिनँ ।’

प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com