काठमाडौं । गायिका समीक्षा अधिकारी र ज्योति मगरबीच हवाई उडानलाई लिएर जुहारी चलेको छ।
गायिका समीक्षा अधिकारीले आइतबार श्री एयरलाइन्सको उडान ढिलाइका कारण आफूले कार्यक्रम छाड्नुपरेको भन्दै सामाजिक सञ्जालमा गुनासो पोखेकी थिइन्। उनले लेखेकी थिइन्, “मौसम खराबीका कारण उडान प्रभावित हुनु स्वाभाविक हो। तर, एयरपोर्ट खुलेपछि पनि बिहान ८ बजेको प्लेन दिउँसो २ बजे मात्रै उड्छ भन्दै यात्रुलाई एयरपोर्टमै अलपत्र पार्नु उचित होइन। अन्य एयरलाइन्सले धमाधम उडान गरिरहेका थिए। केही दिनअघि पनि यही एयरलाइन्सले धोका दिएपछि मैले नेपालगञ्जको कार्यक्रम छुटाउनु पर्यो। आज फेरि बिहानैदेखि एयरपोर्टमै छु।”
समीक्षाको यो भनाइपछि गायिका ज्योति मगरले सामाजिक सञ्जालमै प्रतिवाद गरेकी छन्। उनले मौसमलाई दोष दिनुको सट्टा प्रकृतिलाई बुझ्नुपर्ने बताउँदै समीक्षा अधिकारीको टिप्पणीलाई आलोचना गरिन्।
ज्योतिले लेखेकी छिन्, “म प्रायः दिनमा दुईवटा उडान गर्छु। केही दिनअघि माघ १ र माघ ५ मा मौसमकै कारण दुई ठूला कार्यक्रम रद्द गर्नुपर्यो। तर, प्रकृतिभन्दा माथि कोही छैन। भर्खर-भर्खर जहाज चढ्न थालेका कलाकारहरूले एयरलाइन्सलाई दोष दिँदै आफूलाई ठूलो स्टार सम्झिँदा हास्यास्पद लाग्छ।”
उनले एयरलाइन्सलाई दोष लगाउनु मूर्खता भएको समेत बताइन्। ज्योतिले थपेकी छिन्, “एउटा एयरलाइन्स राम्रो र अर्को धोकेबाज भन्दै फाल्तु कुरा गर्नु गलत हो। प्रिय कलाकारहरू, एयरपोर्टभित्र जहाजको छेउमा फोटो खिच्न नपाइने नियम छ। कलाकारभन्दा पहिले नियम पालन गर्ने सभ्य नागरिक बन्नुहोस्।”
यसरी सामाजिक सञ्जालमा दुवै गायिकाको भनाइले चर्चा पाएको छ।
प्रकाशित मिति: ६ माघ २०८१, आइतबार
प्रतिक्रिया