काठमाडौं । प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने महत्वाकांक्षा लिएर अघि बढिरहेका छन्। बैंकिङ क्षेत्रका जानकारहरूले यो विषयलाई हाँस्यास्पद मानेका छन्। तर, शेरचन निकटका सांसदहरूका अनुसार उनी नेकपा एमालेका नेतृ तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अघि सारेका उम्मेदवार हुन्।

नेपालको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) अनुसार दुई कार्यकालभन्दा बढी बैंकको नेतृत्व गर्न नपाइने व्यवस्था छ। तर, शेरचनले यो नियम तोड्दै प्रभु बैंकको नेतृत्व गरिरहेका छन्। बैंकको वित्तीय अवस्था दयनीय छ। उनले आफ्ना आफन्तहरूका नाममा मनपरी कर्जा वितरण गर्दा बैंकलाई करिब ३.५ अर्ब रुपैयाँ घाटा लागेको छ।

Advertisement
Advertisement

तत्कालिन सेन्चुरी कमर्शियल बैंकलाई प्राप्ती गरेको भएपनि यसलाई मर्जरको नाम दिएर पदमा आसिन रहेका शेरचनको अन्तिम कार्यकाल २०८२ बैशाख ९ गतेसम्म मात्र छ। उच्च अदालत पाटनले उनको कार्यकालको व्यख्या गर्दै आगामी बैसाखमा पद छाड्न भनेको भएपनी उनले अझै पदमा बस्न पाउँ भन्दै सर्वोच्च आदलतमा अन्तरिम आदेश माग गरेका छन्। यसै सिलसिलाम उनले प्रधानन्यायाधीशका एकजना आफन्तलाई बोर्डमा नियुक्त गरिदिएका छन् ।

‘ताक परे तिवारी नत्र गोतामे’ भन्ने उखान झैँ अदलतले अन्तरिम दिएमा सीइओ पदमै रहने र आफुले प्रवाह गरेका कर्जा अपचलनको बिषय सामसुम पार्ने र अन्यथा एमाले अध्यक्ष केपी ओलीसँगको निकटम् सम्बन्धको फाईदा उठाएर नियामक निकायनै हत्याउने गरी गभर्नर बन्ने रणनीतिमा शेरचन लागेको उनी निकट स्रोतले जनाएको छ।

स्रोत भन्छ,-“एउटा वाणिज्य बैंक डुबाएर फेरी बैंकहरुको नियमनकरी निकायनै हडप्ने योजनामा लाग्नु दुखद: कुरा हो। यसरी त सिंगो बैंकिङ इन्डस्ट्रीकै लागि खतरा हुने निश्चित छ । यसमा सरोकार वाला निकायको ध्यान जानुपर्ने हो तर विडम्बना सबै पैसाका पछि लाग्छन्”

हालै विबादित दमक भ्यू टावरको भ्रमण गरेका सीइओ शेरचनको नाम नेपाल राष्ट्र बैंकको गभर्नर पदको सम्भावित ब्यक्तिको सिफारिसमा आउन थालेपछि यी दुबै घटनाबीच कुनै सम्बन्ध छ कि भन्ने चासो बढ्न थालेको छ। बैंकिङ क्षेत्रमा लामो समयदेखि रहेका व्यक्तिहरूलाई नै गभर्नर बनाउने परम्परा रहेपनि अशोक शेरचनजस्ता व्यक्तिहरूको नाम अगाडि आउँदा इन्डस्ट्रीमा यसको प्रभाव के पर्ला भन्ने विषयमा बहस हुन थालेको छ। सीइओ शेरचन बैंकिङ क्षेत्रमा काम गरेको भएपनि उनको विज्ञता यस क्षेत्रमा नभएको जानकारहरु बताउँछन्।

असफल व्यवस्थापक गभर्नरको दौडमा

बैंकिङ इन्डस्ट्रीले सीइओ शेरचनलाई एक असफल व्यवस्थापकमा रुपमा हेर्ने गर्छ। प्रभु बैंक पनि नेपालको बैंकिङ प्रणालीको एक महत्त्वपूर्ण हिस्सा हो । तर, यसको व्यवस्थापन तथा संचालन पक्ष निकै कमजोर छ। जसका कारण प्रभु बैंक, सीइओ शेरचन र यसका संचालक पटक- पटक नेपाल राष्ट्र बैंकको कारबाहीमा पर्दै आईरहेका छन् । प्रभु बैंकले विभिन्न मर्जरमार्फत आफ्नो कारोबार विस्तार गरेको भए पनि बैंकको आन्तरिक व्यवस्थापन र स्थायित्वमा निकै चुनौतीहरू छन्। बैंकभित्र कर्मचारी व्यवस्थापनदेखि ग्राहक सेवासम्मका विषयमा विभिन्न असन्तुष्टिहरू सुनिँदै आएका छन्। यस्तो अवस्थामा एउटा बैंक राम्रोसँग व्यवस्थापन गर्न नसक्ने व्यक्तिले सिंगो अर्थतन्त्रको महत्वपूर्ण हिस्सा अर्थात् अर्थतन्त्रको मेरुदण्ड नेपाल राष्ट्र बैंक जस्तो महत्त्वपूर्ण संस्थालाई कसरी कुशलतापूर्वक सञ्चालन गर्ला भन्ने चर्चापरिचर्चा हुन थालेको छ।

नेपाल राष्ट्र बैंक देशको सम्पूर्ण बैंकिङ प्रणालीको नियामक निकाय हो। जसले मौद्रिक नीति निर्माणदेखि वित्तीय स्थायित्व कायम राख्ने जिम्मेवारी बहन गर्छ। यस्तो संस्थाको नेतृत्व गर्ने व्यक्ति आर्थिक तथा बैंकिङ प्रणालीको गहिरो ज्ञान राख्ने, निष्पक्ष र प्रभावकारी निर्णय गर्नसक्ने हुनु अतिआवश्यक छ। यदि कुनै व्यक्तिले आफूले नेतृत्व गरिरहेको एउटा वाणिज्य बैंकलाई समेत कुशलतापूर्वक सञ्चालन गर्न सकेको छैन भने समग्र बैंकिङ प्रणालीलाई कस्तो अवस्थामा पुर्याउला भन्ने गम्भीर प्रश्न खडा भएको छ।

दमक भ्यू टावर र अशोक शेरचन

अशोक शेरचनले हालै आफ्नो ब्लग “मेरो लगानी” शीर्षकमा लगानीसम्बन्धी विचारहरू प्रस्तुत गरेका छन्। उनले चौतर्फी रुपमा आलोचना भएको दमक भ्यू टावरको भ्रमण गर्नु, चाकाडीपूर्ण तरिकाले लगानीसम्बन्धी लेख प्रकाशन गर्नु र हालै उनी गभर्नर बन्ने बिषयको चर्चा चल्नु, यी घटनाहरू एकै समयमा हुनु संयोग मात्र नभई यसभित्र ठूलो रणनीति लुकेको देखिएको छ।

हाल सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । सीइओ शेरचन एमाले निकट ब्यक्ति मानिन्छन् । उनले सीइओको कार्यकाल सकिएपछि एमाले पार्टीमा रहेर गृह जिल्ला बागलुंगबाट राजनीति गर्ने बताउँदै आएका पनि छन्। यसकारण पनि शेरचनलाई एमालेले एक कार्यकालका लागि राष्ट्र बैंकको गभर्नर बनाउन लागेको चर्चा चलेको छ। स्रोतका अनुसार शेरचन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका क्यान्डीडेड हुन्।

नेपालमा धेरै पटक बैंक तथा वित्तीय संस्थाका ठूला पदाधिकारीहरू आफूलाई सत्तासँग निकट राखेर शक्तिशाली पदमा पुग्ने खेल खेल्दै आएका छन्। यदि कुनै व्यक्तिले व्यक्तिगत व्यवसायिक लाभका लागि आफूलाई गभर्नर पदमा पुर्याउने रणनीति अपनाइरहेको छ र कसैले देश र जनताको हितविपरित अयोग्य व्यक्तिलाई समेत जबर्जस्ती देशको मेरुदण्ड मानिने अर्थतन्त्रको कार्यभार सुम्पिन्छ भने त्यसले नेपालको बैंकिङ प्रणाली र सिंगो अर्थतन्त्रलाई समेत गम्भीर संकटतर्फ धकेल्ने विज्ञहरु बताउँछन्।

बैंकिङ क्षेत्रमा योग्य नेतृत्व आवश्यक

नेपाल राष्ट्र बैंकको गभर्नर चयन गर्दा राजनीतिक स्वार्थभन्दा पनि योग्यतामा ध्यान दिन जरुरी छ। गभर्नरले बैंक तथा वित्तीय संस्थाहरूको नियमन मात्र होइन समग्र अर्थतन्त्रलाई नै संकटमा पार्न सक्छ। नेपालका बैंक तथा वित्तीय क्षेत्रका सरोकारवालाहरूले यस विषयमा गम्भीर छलफल गर्नुपर्ने देखिन्छ। गभर्नर चयन गर्दा व्यक्तिको वास्तविक क्षमता, अनुभव र निष्पक्षता मूल्यांकन गर्नुपर्छ । व्यक्तिगत वा राजनीतिक लाभका लागि शक्तिको दुरुपयोग गर्ने खेलहरूले राष्ट्र बैंक गलत ब्यक्तिको हातमा पुग्दा देशको समग्र अर्थतन्त्र नै तहसनहस हुने देखिन्छ।

यस विषयमा थप बुझ्न हामीले सिईओ शेरचनलाई पटक-पटक सम्पर्क गर्न खोज्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

प्रकाशित मिति: २१ माघ २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com