काठमाडौं । बिवादित व्यापारी चन्द्र ढकाल अध्यक्ष रहेको नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, र नेपाल चेम्बर अफ कमर्सले पाथिभरा (मक्कुम्लुङ) क्षेत्रमा निर्माण हुन लागेको केवलकार परियोजनाविरुद्ध भइरहेका आन्दोलनप्रति आपत्ति जनाएका छन्। उनीहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै कोशी प्रदेशका जिल्लाहरूमा भइरहेका बन्द–हडतालका कार्यक्रमहरूले जनजीवन अस्तव्यस्त बनाएको भन्दै तत्काल स्थगन गर्न आह्वान समेत गरेका छन्।
नेपालमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मुलुकको पूर्वाधार विकासका लागि गरिएको लगानीलाई अस्थिर बनाउने कुनै पनि गतिविधि स्वीकार्य नहुने बिज्ञप्ति मार्फत चेतावनी दिइएको छ। हाल भइरहेको विरोधका कारण उद्योग, व्यापार, पर्यटन, शिक्षा, बैंकिङ लगायतका क्षेत्रमा प्रत्यक्ष असर परिरहेको तथा यसले स्वदेशी तथा विदेशी लगानीकर्तामाझ नकारात्मक सन्देश प्रवाह गर्ने बताइएको छ। नेपाल आर्थिक रूपमा समृद्ध हुने प्रक्रियामा रहेको र यसलाई गतिशील बनाउन निजी क्षेत्रको योगदान उल्लेखनीय रहँदै आएको भन्दै विज्ञप्ति मार्फत विकास विरोधी गतिविधिहरूले मुलुकलाई पछाडि धकेल्ने चेतावनी दिइएको छ।
बिज्ञप्तिमा पाथिभरा केवलकार परियोजना पर्यटन प्रवद्र्धनका साथै स्थानीय आर्थिक विकासको मेरुदण्ड बन्ने उल्लेख छ। उक्त परियोजनाले धार्मिक तथा साहसिक पर्यटनलाई प्रवर्द्धन गर्नुका साथै स्थानीय व्यवसाय, कृषि तथा हस्तकलालाई समेत अघि बढाउने दाबी गरिएको छ। यसले स्थानीय स्तरमा प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी सिर्जना गर्नुका साथै वृद्ध, अशक्त, बालबालिकालगायत सबैका लागि सहज, सुरक्षित र छिटो यात्रा सम्भव बनाउने उल्लेख छ।
निजी क्षेत्रका संस्थाहरूले स्थानीय तह र समुदाय परियोजनाप्रति सकारात्मक रहेको जनाउँदै बाह्य हस्तक्षेपद्वारा केवलकार निर्माणमा अवरोध गरिनु दुःखद भएको बताएका छन्। सरकारले कानुनी प्रक्रिया पूरा गरी अनुमति प्रदान गरेको, स्थानीय बासिन्दाहरूको समर्थन रहेको र आर्थिक वृद्धिका लागि परियोजना महत्त्वपूर्ण रहेको अवस्थामा यस्तो अवरोधले समग्र पूर्वाधार विकासलाई नै संकटमा पार्ने विज्ञप्तिमा उल्लेख छ। तर, स्थानीय नागरिकहरुले बिरोध प्रदर्शन गरिरहेका छन्।
उद्योग वाणिज्य महासंघका कोशी, गण्डकी, र कर्णाली प्रदेशका सभापतिहरूले पनि छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै समस्या वार्तामार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल महामारीपछि आर्थिक पुनरुत्थानको प्रक्रियामा रहेको र यसलाई मजबुत बनाउन सरकार र निजी क्षेत्र मिलेर अगाडि बढिरहेको बेला विकासविरोधी गतिविधिहरूले मुलुकलाई नकारात्मक असर पार्ने चेतावनी दिएका छन्।
नेपालका विभिन्न स्थानहरूमा पर्यटन पूर्वाधार निर्माण भई हजारौंलाई रोजगारी दिइसकेको अवस्थामा पाथिभरा केवलकार परियोजनामा भइरहेको अवरोधले मुलुकको लगानीमैत्री वातावरणलाई कमजोर बनाउने विज्ञप्तिमा उल्लेख छ। निजी क्षेत्रका संस्थाहरूले यस्ता विकास विरोधी गतिविधिहरू तत्काल रोक्न, लगानीकर्ताहरूलाई विश्वास दिलाउन, र पूर्वाधार परियोजनाहरूलाई सहज रूपमा अघि बढाउन सबै पक्षलाई आग्रह गरेका छन्। “नेपालको आर्थिक भविष्य सुनिश्चित गर्न विकासको बाटो खुला राख्नुपर्छ। पाथिभरा केवलकार परियोजना रोक्न खोज्नु मुलुकको समग्र प्रगतिको बाधक बन्न सक्छ,” विज्ञप्तिमा भनिएको छ।
पाथिभरा जाने मार्गमा मात्र नभएर देशभर अहिले दिनहुँ ‘गो ब्याक चन्द्र ढकाल’ र ‘नो केवलकार’ को नारा चर्किरहेको छ। प्रतिस्पर्धाबिनै देशभरका पहाडहरूमा केवलकार बिस्तारको कार्य तिब्रताका साथ गरिरहेका चन्द्र ढकालको पाथीभरा केवलकार योजनाको बिरुद्ध स्थानीयहरूले लामो समयदेखि विरोध प्रदर्शन गर्दै आएका छन्।
केबलकार बनाउने नाममा प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेका ढकाल र उनको स्वामित्वमा रहेको निजि कम्पनीको फाइदाका लागि राज्य संयन्त्रको दुरुपयोगगरी सामुदायिक जंगलको व्यापक फडानी भएको छ।
विवादित ब्यापारी चन्द्र ढकालले राज्य संयन्त्रलाई नै प्रभावमा पारेर सामुदायिक बन फँडानीगरी पाथिभरामा केबलकार बिस्तारको काम थालनी गरेका छन्। जसका कारण प्राकृतिक सम्पदाको ब्यापक दोहन भईरहेको छ। पाथिभरामा केवलकार बिस्तार गरेर पाथिभरा क्षेत्र व्यावसायिक प्रयोजनको लागि हडप्ने नितिमा अगाडि बढेका बिबादित व्यापारी ढकालले प्रसिद्ध माता पाथिभराको मन्दिरमा दैनिक हजारौं नेपाली तथा भारतीय श्रदालु भक्तजनको घुईचो लाग्ने हुँदा दैनिक करोडौं कुम्ल्याउने दाउमा देखिन्छन्।
ब्यापारीक प्रयोजनको लागी निजी कम्पनीलाई प्राकृतिक सम्पदाको दोहोन गराउनु राज्य संयन्त्रको मिलेमतोमा नितिगत भ्रष्टाचार भएको भन्दै सरकारको निति नै आफ्नो निकट ब्यापारी पोस्ने र नागरिक ठोक्ने भएको स्थानीयको भनाई छ। मुक्कुमलुङ संरक्षण र केबुलकार खारेजी संघर्षरत स्थानीय युवाहरूमाथी प्रहरीले गोली बर्साउँदा ३ जना गम्भीर घाइते समेत भएका छन् भने पछिल्लो समय आन्दोलन चर्किरहेको छ।
प्रकाशित मिति: २२ माघ २०८१, मंगलबार
प्रतिक्रिया