काठमाडौं । बैंकिङ प्रणाली पारदर्शिता, सुशासन र व्यावसायिक सिद्धान्तमा आधारित हुनुपर्ने हो। तर, प्रभु बैंकले विवादास्पद छवि बोकेका असक्षम निर्देशक अम्बिका लामिछानेलाई मानव संसाधन (HR) संयोजकको रूपमा नियुक्त गरेपछि बैंकिङ क्षेत्रमा नै गम्भीर प्रश्न उठेको छ। प्रभु बैंकमा धेरै कर्मचारीको शैक्षिक योग्यता नपुगेको र पहुँचको आधारमा सयौं कर्मचारीले नक्कली सर्टिफिकेट पेस गरेर जागिर खाइरहेको हुँदा यो विषयमा छानबिन हुनुपर्ने विषय बाहिर छताछुल्ल हुने भएकोले त्यसलाई ब्यबस्थापन गर्न लामिछानेलाई उक्त जिम्मेवारी दिइएको बुझिएको छ। त्यसै पनि मानव संसाधन विभाग बैंकको सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी हो। जसले कर्मचारी व्यवस्थापन, नियुक्ति, पदोन्नति र सरुवासम्बन्धी नीतिहरू तयार गर्छ। तर, यही संवेदनशील पदमा अनियमितताको आरोप खेपिरहेका व्यक्तिलाई जिम्मेवारी दिइनु “बाँदरलाई लिस्नु लगाउनु” जस्तै भएको बैंकभित्रै चर्चा हुन थालेको छ।
अम्बिका लामिछाने प्रभु बैंकका असक्षम निर्देशक हुन्। तर उनको भूमिका बैंकको सुशासन र स्थायित्व भन्दा पनि अनियमित निर्णय, पहुँचको दुरुपयोग र शक्ति केन्द्रित गर्ने खेलमा केन्द्रित रहेको आरोप लाग्दै आएको छ। उनिमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी समेत परेको छ। लामिछाने बैंकका नियमित कर्मचारी नभए पनि उनले बैंकको सवारीसाधन व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्ने गरेको पाइएको छ। केही समय अघि उनले आफ्नै घरमा प्रभु बैंकको एटीएम राखेर अनुचित लाभ लिएको विषयमा उजुरी परेपछि रातारात एटीएम आफ्नो निजि निवास बाट हटाइएको थियो। जसले उनको नियतप्रति थप शंका उब्जाएको थियो। बैंकको उच्च तहमा बस्ने व्यक्तिबाट यस्ता गतिविधि हुनु गम्भीर चिन्ताको विषय बनेको छ।
बैंकको मानव संसाधन (HR) संयोजकको भूमिका निष्पक्ष रूपमा योग्य कर्मचारी पहिचान गर्ने, उचित पदोन्नति नीति लागू गर्ने र सुशासन कायम राख्ने हो। तर, अम्बिका लामिछाने आफैं विवादित छवि भएकि व्यक्ति यो पदमा आएपछि पारदर्शिता, निष्पक्षता र सुशासनको कुरा केवल नारामा सीमित रहने निश्चित देखिन्छ। प्रभु बैंकमा विगत केही वर्षयता कर्मचारी व्यवस्थापन व्यक्तिगत पहुँचमा आधारित हुँदै गएको पाइएको छ। कतिपय कर्मचारी एक वर्षमै नियमित पदोन्नति पाउने तर कतिपय १२ वर्षसम्म कुनै अवसर नपाउने असमानता बैंकभित्र मौलाएको छ। केही कर्मचारीहरूको एकै ठाउँमा दशकौँसम्म सरुवा हुँदैन । तर, कतिपयलाई महिनैपिच्छे ट्रान्सफर गरिन्छ। योग्य र मेहनती कर्मचारीहरू उपेक्षित रहने तर व्यक्तिगत पहुँच भएकाहरूलाई विशेष सुविधा दिइने प्रवृत्तिले बैंकको आन्तरिक वातावरणमै असन्तोष बढाएको छ।
अम्बिका लामिछानेको नियुक्तिसँगै प्रभु बैंककी अर्की विवादास्पद पात्र रश्मी पन्तको भूमिका पनि थप शंकास्पद बनेको छ। नौ वर्षमै अफिसरबाट Assistant General Manager (AGM) सम्मको पदोन्नति पाउनु स्वाभाविक करियर ग्रोथभन्दा अस्वाभाविक “चमत्कार” भएको बैंकभित्र चर्चा हुन थालेको छ। उनको व्यावसायिक योग्यता र योगदानभन्दा व्यक्तिगत सम्बन्ध र पहुँचकै कारण पदोन्नति भएको देखिन्छ। त्यस्तै, उनको सम्पत्ति श्रोतबारे समेत शंका उठिरहेको छ। प्रभु बैंकभित्र उच्च पदमा रहेका केही व्यक्तिहरू विशेष पहुँचकै कारण अकूत सम्पत्ति जोडिरहेको आरोप लाग्दै आएको छ।
प्रभु बैंक जस्तो ठूला वित्तीय संस्थाले पारदर्शिता, निष्पक्षता र योग्यतामा आधारित नीति अवलम्बन गर्न नसक्दा बैंकिङ प्रणाली नै जोखिममा पर्ने खतरा बढेको छ। नियुक्ति, पदोन्नति र स्थानान्तरण जस्ता प्रक्रियाहरू व्यक्तिगत सम्बन्ध र पहुँचको भरमा चल्ने हो भने दीर्घकालीन रूपमा संस्थाको साख गिर्ने निश्चित छ। प्रभु बैंकलाई आफ्नो साख बचाउन निष्पक्ष मानव संसाधन नीति लागू गर्दै अनियमित गतिविधिमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न ढिलाइ गर्नु नहुने विज्ञहरूको चेतावनी छ। यसरी लिएको गलत निर्णयले प्रभु बैंकलाई संकटमा पार्ने चर्चाले बैकिङ्ग क्षेत्र तरङ्गित छ।
प्रकाशित मिति: २२ माघ २०८१, मंगलबार
प्रतिक्रिया