जाजरकोट । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाह सोमबार नेपाली सेनाको हेलिकप्टर मार्फत जाजरकोटको छेडागाड पुगे । उनि पाँचौँ मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रममा त्यहाँ पुगेका हुन्।
मन्त्री शाह हेलिकप्टरमार्फत् कार्यक्रमस्थलमा अवतरण गर्दा ठूलो हावाको प्रभावले खेल मैदानमा धुलोको वितण्डा मच्चियो। प्रतियोगिता अवलोकन गर्न आएका स्थानीयहरू तीव्र हावासँगै उडेको धुलोमा हराए। कोही आँखा मिच्दै थिए, कोही लुगा फट्कार्दै।
घटनापछि सामाजिक सञ्जालमा मन्त्री शाहको आलोचना चुलियो। सर्वसाधारणले ‘ मन्त्रीको हेलिकप्टर आगमनले कार्यक्रममा बढी दु:ख दियो’ भन्दै असन्तुष्टि व्यक्त गरे। आलोचनापछि मन्त्री शाहले ग्लोबल नागरिकसँग प्रतिक्रिया दिँदै भने, “म बाध्यताले हेलिकप्टरमा जानुपर्यो। जनतालाई धुलो खुवाउन गएको होइन।”
भिडिओ:
प्रकाशित मिति: २३ माघ २०८१, बुधबार
प्रतिक्रिया