धनगढी – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षामान पुनले आगामी २०८४ सालको निर्वाचनअघि वामपन्थी ध्रुवीकरण सम्भव नहुने स्पष्ट पारेका छन्। पूर्वमन्त्रीसमेत रहेका पुनले नेकपा (एमाले) सँग एकता प्रयास र गठबन्धन भइसकेको स्मरण गराउँदै अब त्यसको सम्भावना नरहेको बताएका हुन्।

प्रेस सेन्टर कैलालीद्वारा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुनले वर्तमान गठबन्धन सरकार दुई ठूला दलको सहकार्यमा सञ्चालन भइरहेको बताउँदै माओवादी केन्द्र स्वतन्त्र रूपमा प्रतिपक्षमा बस्ने बताएका छन्।

Advertisement
Advertisement

“हामीले वाम एकता र गठबन्धनका लागि पहल गरिसकेका थियौँ। तर, त्यो असफल भएपछि कोर्स करेक्सन गर्ने प्रयास गर्यौं। तर, एमाले त्यस्तो शक्ति रहेनछ,” पुनले भने, “अब २०८४ को निर्वाचनमा माओवादी केन्द्र एक्लै प्रतिस्पर्धा गर्छ। वामपन्थी ध्रुवीकरण सम्भव छैन। ओलीजीले दुई पटक धोका दिइसक्नुभएको छ, तेस्रो पटक पुनः विश्वास गर्ने पक्षमा छैनौं।”

उनले नेकपा विभाजनपछि नयाँ राजनीतिक समीकरण बनिसकेको बताउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वयं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग निरन्तर ६ महिना भेटेर सरकार नेतृत्व हस्तान्तरण नगर्नु गल्ती भएको स्वीकार गरेको खुलासा गरे।

पुनका अनुसार ओलीकै आग्रहमा कोर्स करेक्सन गरी पुनः सरकार गठन गरिएको थियो। तर, ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई धोका दिएको भन्दै वाम गठबन्धनलाई बदनाम गर्ने प्रयास गरिरहेको आरोप पुनले लगाए।

“नेकपा निर्माण गरियो तर टिकेन। ओली कमरेड आफैंले अध्यक्ष प्रचण्डलाई सरकारको नेतृत्व हस्तान्तरण नगर्दा गल्ती भएको स्वीकार गर्नुभएको थियो। नयाँ समीकरण बनेको पनि नेकपाको बहुमत टिक्न नसकेकै कारण हो,” पुनले थपे, “त्यसैले वामपन्थी विचार राख्ने शक्तिहरूबीच सहकार्य गर्नुपर्ने आवश्यकताका आधारमा सरकार परिवर्तन गरिएको थियो। तर, ओली कमरेडको प्रवृत्ति उही नै रह्यो।”

उपमहासचिव पुनको अभिव्यक्तिले आगामी निर्वाचनमा माओवादी केन्द्र अलग्गै लड्ने संकेत दिएको छ। यसले वाम गठबन्धन पुनः सम्भव छैन भन्ने प्रष्ट्याएको छ।

प्रकाशित मिति: २३ माघ २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com