काठमाडौं – नेपालका लागि कम्बोडियाका गैरआवासीय राजदूत धनबहादुर ओलीले नोम पेन्हस्थित शान्ति दरबारमा कम्बोडियाका प्रधानमन्त्री सम्देच मोह बोर्भोर थिपाडेई हुन मानेतसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने विभिन्न विषयमा छलफल भएको छ।
बैंककस्थित नेपाली राजदूतावासका अनुसार शुक्रबार सम्पन्न उक्त भेटमा कम्बोडियाका प्रधानमन्त्री मानेतले नेपाल-कम्बोडिया सम्बन्ध उत्कृष्ट रहेकोमा सन्तोष व्यक्त गर्दै व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनका लागि द्विपक्षीय संयन्त्रलाई थप सक्रिय बनाउनुपर्ने आवश्यकता औंल्याए।
त्यस अवसरमा राजदूत ओलीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली जनताको तर्फबाट कम्बोडियाका प्रधानमन्त्रीको व्यक्तिगत सुख, सुस्वास्थ्य तथा कम्बोडियाली जनताको निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए।
यसअघि, राजदूत ओलीले कम्बोडियाका धर्म तथा संस्कृतिमन्त्री चाय बोरिन, विदेश सचिव युएन खेङ तथा परराष्ट्र तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयअन्तर्गत एसिया-प्रशान्त विभागका महानिर्देशक छाय मकारासँग छुट्टाछुट्टै भेट गरी द्विपक्षीय सम्बन्ध तथा आपसी सहयोगका विविध पक्षमा विचार-विमर्श गरेका थिए।
प्रकाशित मिति: २६ माघ २०८१, शनिबार
प्रतिक्रिया