काठमाडौं – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले फागुन १ लाई ‘जनक्रान्ति दिवस’ का रूपमा औपचारिक रूपमा मनाउनुपर्ने प्रस्ताव अघि सारेका छन्। उनले राज्य, सम्पूर्ण राजनीतिक दल तथा नागरिक समाजले प्रत्येक वर्ष फागुन १ लाई राष्ट्रिय दिवसका रूपमा मनाउनु पर्ने सुझाव दिएका छन्।
डा. भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना विचार व्यक्त गर्दै भनेका छन्, “शब्दहरूको अनावश्यक बहसभन्दा माथि उठौं। फागुन १ लाई सबै मिलेर ‘जनक्रान्ति दिवस’ का रूपमा मनाऔं।”
उनले नेपालका प्रमुख राजनीतिक तथा सामाजिक आन्दोलनहरू— १९९७ सालको विद्रोह, २००७ सालको क्रान्ति, झापा आन्दोलन, २०४६ सालको जनआन्दोलन, २०५२-६२ सालको सशस्त्र संघर्ष, २०६२/६३ को ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलन, थारू विद्रोह, आदिवासी जनजाति आन्दोलन लगायतलाई एउटै क्रान्तिको निरन्तरता भन्दै यस दिवसलाई ती सबै संघर्षको सम्मानका रूपमा मनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
डा. भट्टराईको यस प्रस्तावले नेपाली राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: १ फाल्गुन २०८१, बिहिबार
प्रतिक्रिया