काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धको प्रेरणा सयौं वर्षसम्म रहने दृढ विश्वास व्यक्त गरेका छन्। ३०औं जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले जनयुद्ध नेपालको इतिहासमा सबैभन्दा ठूलो युगान्तकारी परिवर्तनकारी घटना भएको उल्लेख गरे।

“जनयुद्ध केवल विगतको घटना मात्र होइन, यसले आगामी सयौं वर्षसम्म पनि नेपाली जनतालाई प्रेरणा दिइरहनेछ। यसलाई मेटाउन कुनै पनि शक्ति सक्षम हुनेछैन। जो कोही मेटाउने प्रयास गर्छ, उ आफैं समाप्त हुनेछ,” अध्यक्ष प्रचण्डले चेतावनी दिए।

उनले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “हाल अदालतको आदेशले यसलाई राष्ट्रिय दिवसका रूपमा स्थगन गरिएको छ। तर, हामी यसलाई औपचारिक रूपमा राष्ट्रिय दिवसका रूपमा स्थापना गराएरै छाड्नेछौं।”

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व, सुशासन, सामाजिक न्याय र समृद्धिका लागि निरन्तर संघर्षरत रहेको उल्लेख गर्दै उनले भने, “आज हामी गणतन्त्र, जनअधिकार र समृद्धिको यात्रामा छौं, जसको मूल प्रेरणा नै जनयुद्ध हो। यो यात्रालाई समाजवादको आधार निर्माणसम्म निरन्तर अगाडि बढाइनेछ।”

संविधानमा स्थापित जनताका अधिकारलाई कुण्ठित गर्ने केही शक्तिहरू सक्रिय रहेको भन्दै अध्यक्ष प्रचण्डले तिनका हरेक प्रयासलाई असफल बनाउन पार्टी निरन्तर संघर्षरत रहने बताए। “जनयुद्ध र जनआन्दोलनको बलमा प्राप्त उपलब्धिहरूको रक्षा गर्दै अग्रगमनको मार्गलाई थप सशक्त बनाउने हाम्रो अठोट कायम छ,” उनले भने ।

प्रकाशित मिति: १ फाल्गुन २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com