काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली कांग्रेसले २०८४ सालको निर्वाचनमा बहुमत प्राप्त गर्ने लक्ष्यसहित रणनीतिक तयारी गरिरहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै खनालले कांग्रेसले संगठित रूपमा तयारी गरिरहेको उल्लेख गरे। उनले कांग्रेसले अहिलेको योजनाअनुसार अघि बढेमा आगामी निर्वाचनमा बहुमत हासिल गर्ने सम्भावना उच्च रहेको धारणा व्यक्त गरे।

खनालले नेकपा (एमाले) को वर्तमान रणनीति प्रति शंका व्यक्त गर्दै एमाले यदि एकल बहुमत प्राप्त गर्ने दाबी गर्दै अगाडि बढेमा गम्भीर संकटमा पर्न सक्ने चेतावनी दिए। उनले वामपन्थी शक्तिहरूबीच पुनरावलोकन आवश्यक रहेको भन्दै एकताका लागि पहल गर्नुपर्ने धारणा राखे।

खनालले भने, “२०८४ को निर्वाचन नजिकिँदै छ। कांग्रेसले हाल देखिएको रणनीतिबाट अघि बढेमा बहुमत ल्याउने सम्भावना प्रबल देख्छु। तर, एमाले भने ‘एकल बहुमत ल्याउँछु’ भन्ने भ्रममा छ, जुन दुर्घटनाको कारक बन्न सक्छ। एमालेको स्थिति अहिले अनिश्चित छ।”

त्यसैगरी, उनले नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) ले आफ्नो मूल विचारधाराबाट विचलन हुँदै दक्षिणपन्थी मार्ग अँगालिरहेको आरोप लगाए। यी दलहरू कांग्रेसको छायाँमा रहँदै आफ्नो पहिचान गुमाउँदै गएको उनको टिप्पणी थियो।

प्रकाशित मिति: २ फाल्गुन २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com