वाशिङ्टन, एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणका क्रममा विभिन्न उच्च व्यक्तित्वहरूसँगको भेटघाटले चर्चा पायो। यसै क्रममा अमेरिकी अर्बपति उद्योगपति एलन मस्क तथा उनका परिवार पनि ह्वाइट हाउसमा आयोजित कार्यक्रममा सहभागी भए।

मोदीको स्वागतका लागि आयोजित कार्यक्रममा मस्क आफ्ना श्रीमती र छोराछोरीसहित पुगेका थिए। त्यही बेला, मस्कको कान्छो छोराले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘तिमी राष्ट्रपति होइन, यहाँबाट जाउ’ भनेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

बालसुलभ हर्कतले ध्यान खिच्यो

उक्त भिडियोमा, जब मस्क आफ्ना विचार प्रस्तुत गरिरहेका थिए, उनका कान्छा छोरा चञ्चल मुद्रामा देखिन्थे। कहिले नाकमा औंला हाल्ने, कहिले वरपर हेर्दै फुसफुसाउने जस्ता बालसुलभ गतिविधिहरू उनले गरिरहेका थिए। यही क्रममा उनी ट्रम्पको नजिक पुगे र अकस्मात् भने, ‘तिमी राष्ट्रपति होइन, जाउ।’

ट्रम्पले उक्त टिप्पणीलाई बेवास्ता गरे पनि त्यहाँ रहेका क्यामेराले दृश्य कैद गरिसकेका थिए। केही समयमै भिडिओ सामाजिक सञ्जालमा फैलियो र मानिसहरूले विभिन्न प्रतिक्रिया दिन थाले।

सामाजिक सञ्जालमा फरक–फरक प्रतिक्रिया

भाइरल क्लिपमा केही प्रयोगकर्ताहरूले बच्चाको मासूमियतको तारिफ गरेका छन् भने केहीले यसलाई ट्रम्पमाथिको व्यंग्यको रूपमा व्याख्या गरेका छन्। अर्काे भिडिओ क्लिपमा त मस्कका छोराले ट्रम्पको मुख बन्द गरिदिन चाहेको बताएका दृश्यसमेत देखिन्छ।

एलन मस्क र डोनाल्ड ट्रम्पबीच पछिल्ला वर्षहरूमा निकट सम्बन्ध रहँदै आएको छ। ट्रम्पको राष्ट्रपतीय चुनावी अभियानमा मस्कको महत्त्वपूर्ण भूमिका रहेको मानिन्छ। मोदीसँगको भेटघाटमा पनि मस्क आफ्ना दुई छोराछोरी र श्रीमतीसहित सहभागी भएका थिए।

भिडिओले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ, जहाँ मानिसहरूले फरक–फरक कोणबाट यसबारे टिप्पणी गरिरहेका छन्।

प्रकाशित मिति: ३ फाल्गुन २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com