काठमाडौं – पूर्वमन्त्री तथा नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको समस्याको समाधान केवल प्रणाली परिवर्तनमा निर्भर नहुने बताएका छन्।
बुधबार काठमाडौंमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) द्वारा आयोजित ‘नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनीतिका औचित्य र आधार’ विषयक अन्तर्संवाद कार्यक्रममा बोल्दै उनले राजनीतिक प्रणाली परिवर्तन मात्रै समाधानको उपाय नहुने स्पष्ट पारे।
‘प्रणाली परिवर्तनले मात्रै समाधान दिन्छ भन्ने सोच राखेर अघि बढ्दा थप जटिलता निम्तिन सक्छ,’ उनले भने।
ज्ञवालीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको विषयमा चनाखो भएर सोच्नुपर्ने भन्दै यसलाई सबै समस्याको एकमात्र समाधान ठान्न नहुने बताए। ‘नेपालको संवेदनशील भूराजनीतिक अवस्थालाई ध्यानमा राख्दा र हाल विश्वभर पपुलिस्ट राजनीति हाबी भइरहेको परिप्रेक्ष्यमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली उपयुक्त छैन,’ उनले थपे।
उनले युक्रेनको पछिल्लो घटनाक्रम उदाहरण दिँदै भने, ‘पपुलिस्ट प्रवृत्तिले सत्ताको बागडोर सम्हाल्दा के-कस्ता चुनौती आउन सक्छन् भन्ने युक्रेनको अवस्थाले देखाइसकेको छ। यस्तो अवस्थामा हामीले गहिरो विश्लेषणबिना प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा जानु हतार हुनेछ।’
प्रकाशित मिति: २८ फाल्गुन २०८१, बुधबार
प्रतिक्रिया