काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा भ्रष्टाचारका ठूला मुद्दामा भइरहेको अनुसन्धानप्रति गम्भीर आशंका रहेको बताएका छन्। संवैधानिक निकायहरूले गर्ने छानबिनप्रति जनताको पूर्ण विश्वास नरहेको उल्लेख गर्दै उनले प्रभावकारी विकल्पको खोजी गर्नुपर्ने बताएका छन्।
बुधबार नवलपरासीको सुनवलमा आयोजित पार्टी कार्यक्रममा बोल्दै महामन्त्री थापाले अख्तियार र सरकारले गर्ने अनुसन्धानमा चित्त नबुझे संसद्बाटै उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्न सकिने सुझाव दिए।
‘स्वतन्त्र र निष्पक्ष अनुसन्धान आवश्यक’
महामन्त्री थापाले भ्रष्टाचार अनुसन्धानलाई निष्पक्ष बनाउन स्वतन्त्र न्यायाधीश वा पूर्वप्रधानन्यायाधीश सम्मिलित आयोग गठन गर्न सकिने बताएका छन्। ‘यदि संसद्ले चाह्यो भने उच्चस्तरीय छानबिन समिति बनाऔं, नभए स्वतन्त्र आयोग गठन गरौं,’ उनले भने।
उनले भ्रष्टाचारका ठूला प्रकरणको निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गर्दै त्यसमा कोही ‘आमा’ वा ‘मामा’ परे पनि छुट नदिनुपर्ने बताए। ‘गल्ती गर्ने जोसुकै भए पनि कडाभन्दा कडा कारबाही हुनुपर्छ,’ उनले जोड दिए।
‘व्यक्तिगत भ्रष्टाचारको भारी पार्टीले बोक्दैन’
महामन्त्री थापाले कांग्रेस पार्टीले कसैको व्यक्तिगत भ्रष्टाचारको जिम्मेवारी नलिने स्पष्ट पारे। उनले व्यक्तिले गरेको भ्रष्टाचारको भारी पार्टीले बोक्न नसक्ने भन्दै गलत कार्य गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए।
‘हामीलाई कोही नेता–कार्यकर्ताले भ्रष्टाचार गरेमा बचाउनुपर्छ भन्ने छैन। जोगाउनुपर्ने कुनै कारण छैन। कानुनी प्रक्रिया निष्पक्ष हुनुपर्छ,’ थापाले भने।
उनले भ्रष्टाचारका मुद्दामा निष्पक्ष र प्रभावकारी अनुसन्धान नभए मुलुकमा न्यायप्रणालीप्रति नै विश्वास गुम्ने खतरा रहेको चेतावनी दिए। ‘अब हरेक ठूला भ्रष्टाचारको गहिरो छानबिन हुनैपर्छ। जो दोषी छ, उसलाई कानुनी दायरामा ल्याउनुपर्छ। यसमा कुनै सम्झौता हुन सक्दैन,’ उनले भने।
प्रकाशित मिति: २८ फाल्गुन २०८१, बुधबार
प्रतिक्रिया