काठमाडौं – सर्वोच्च अदालतले तत्काल रोक्न आदेश दिए पनि ताप्लेजुङको पाथीभरा क्षेत्रको केबलकार निर्माण कार्य यथावत् रूपमा अगाडि बढाइएको छ। अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशको बेवास्ता गर्दै विवादित व्यवसायी चन्द्र प्रसाद ढकालको निर्माण कम्पनीले रुख पन्छाउने, ढाल्ने, पोल राख्ने स्थानमा मेशिन लगाएर सफाइ र जमिन सम्याउने कार्य तीव्र रूपमा जारी राखेको छ।
मुक्कुमलुङ संयुक्त संघर्ष समितिका संयोजक श्री लिङ्खिमका अनुसार तल्लोफेदीस्थित बेस स्टेसनको क्षेत्रलाई सम्याउने काम र पोल राख्ने स्थान सरसफाइ गर्न आधुनिक उपकरण प्रयोग गरिएको छ। “सर्वोच्च अदालतको आदेशको सम्मान गर्दै हामीले चैत २५ गतेदेखि घोषणा गरिएको अनिश्चितकालीन यातायात बन्दको कार्यक्रम स्थगन गरेका छौँ। तर निर्माण पक्षले अदालतको आदेशको उल्लंघन गर्दै काम रोक्न मानेका छैनन्,” लिङ्खिमले बताए।
पाथीभरा देवी दर्शन केबलकार प्रालि र ठेकेदार कम्पनी हिमालयन कन्स्ट्रक्सनले सर्वोच्च अदालतको आदेशको खुला अवहेलनाका साथ निर्माण कार्य निरन्तरता दिएको भन्दै स्थानीय अभियन्ता कमला पालुङ्वाले जिल्ला प्रशासन, फुङलिङ नगरपालिका र प्रहरी निकायमा जानकारी गराइसकेको बताइन्।
यसअघि केबलकार निर्माणविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएपछि चैत १३ गते न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले “हालसम्म भएका कार्यहरू यथास्थितिमा राख्न” भन्दै अल्पकालीन आदेश जारी गरेको थियो। मुद्दाको थप सुनुवाइका लागि चैत २६ गते पेशी तोकिएको छ।
तर, सो क्षेत्रभित्र यसअघि काटिएका रुख हटाउने, जमिन सम्याउने, चेनसो प्रयोग गरी काठपात काट्ने कार्य अहिले पनि चलिरहेको स्थानीय सरोकारवाला संगठनहरूले जनाएका छन्। मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, नेपाल आदिवासी जनजाति महासंघलगायतका संघसंस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै अदालतको आदेश उल्लंघनप्रति आपत्ति जनाएका छन्।
“हामी सधैँ न्यायिक प्रक्रियाको सम्मान गर्ने पक्षमा छौँ। तर जबरजस्ती र राज्यशक्तिको प्रभावमा भएको एकपक्षीय कार्यशैली अस्वीकार्य र निन्दनीय छ,” संयोजक लिङ्खिमले भने। “यो एकदमै गम्भीर अवहेलनाजन्य गतिविधि हो र सम्बन्धित निकायहरूले तुरुन्त यसबारे गम्भीर प्रश्न उठाउनु आवश्यक छ।”
उनका अनुसार, प्रहरी र प्रशासनको सहयोगमा निर्माण कम्पनीले जबरजस्ती काम जारी राखेको अवस्था देखिएको छ। संघर्ष समितिमा फेरि आन्दोलन गर्ने तयारीबारे आन्तरिक छलफल जारी रहेको जानकारी पनि उनले दिएका छन्।
प्रकाशित मिति: २६ चैत्र २०८१, बुधबार
प्रतिक्रिया