काठमाडौं । संघीय संसद भवनस्थित क्यान्टिनको छानो मर्मत गर्ने क्रममा एक जना कामदार २० फिट उचाइबाट खस्दा गम्भीर घाइते भएका छन्।
आइतबार दिउँसो क्यान्टिनको फल्स सिलिङ बनाउने क्रममा काम गरिरहेका कामदार अचानक खसेर घाइते भएका हुन्। घटनापछि सांसद तेजुलाल चौधरीको गाडी प्रयोग गरी घाइतेलाई तत्कालै सिभिल अस्पताल लगिएको एक प्रत्यक्षदर्शीले जानकारी दिए।
क्यान्टिन व्यवस्थापक नेत्र शाहीका अनुसार छानोबाट पानी चुहिने समस्या देखिएपछि मर्मतको काम भइरहेको थियो। सोही क्रममा कामदार खसेका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) अपिलराज बोहराका अनुसार घाइते व्यक्ति काभ्रेपलाञ्चोक धुलिखेल निवासी २८ वर्षीय दिपेश तामाङ हुन्। उनको छाती, टाउको, बायाँ हात र शरीरका अन्य भागमा चोट लागेको छ।
प्रहरीका अनुसार तामाङ करिब २० फिटको उचाइबाट खसेका थिए।
प्रकाशित मिति: ८ असार २०८२, आइतबार
प्रतिक्रिया