काठमाडौ । मन्त्री फिर्ताको निर्णयलाई लिएर नेकपा एकीकृत समाजवादी पार्टीभित्र चर्को मतभेद चलिरहेका बेला नेतृ रामकुमारी झाँक्रीले महिलाको मात्रै अलग्गै पार्टीको परिकल्पना गरेकी छन्।

सहरी विकास मन्त्रीसमेत रहेकी उनले सरकारबाट फिर्ता हुने विषयमा कोटेश्वरस्थित माधव नेपालको निवासमा बिमत्ति जाहेर गरेर फर्किएपछि यस्तो परिकल्पना अघि सारेकी हुन्।

advertisement

मन्त्रीबाट फिर्ता गराउने भए विभिन्न पाँच शर्त पूरा गर्नुपर्ने अडान अध्यक्ष नेपालसँग झाँक्रीसहितले राखेका थिए। त्यसपछि समाजवादीको विवाद झनै गहिरिएको छ।

समाजवादीले झाँक्रीसहितलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गत जेठ १७ गते नै गरेको थियो। तर पर्यटनमन्त्री प्रेम आलेसहितले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यो निर्णय कार्यान्वयन नगर्न दबाब दिएका थिए।

बिहीबारको समाजवादी सचिवालय बैठकले पनि मन्त्री फिर्ताको निर्णय कार्यान्वयन हुनुपर्ने निर्णय गरेको सन्दर्भमा झाँक्रीले अलग्गै महिलावादी पार्टीको परिकल्पना गरेकी हुन्।

कोटेश्वरपछि आलोकनगरमा बसेको सचिवालय बैठकमा पनि मन्त्री फिर्ताको निर्णयलाई लिएर नेताहरुबीच विवाद भएको थियो। यही विवादबीच झाँक्रीले बिहीबार साँझ महिलावादी पार्टीको बहस सुरु गरेकी हुन्।

झाँक्रीले फिलिपिन्सको ‘द ग्याब्रिएला वुमेन्स पार्टी’को उदाहरण दिएर नेपालमा पनि त्यस्तै पार्टीको जरुरी रहेको तर्क गरेकी छन्।

‘नेपालमा पनि त्यस्तै पार्टी जरुरी छ। यसमा बहस र प्रतिक्रिया जनाउनुहोस्,’ उनले अंग्रेजी भाषा प्रयोग गर्दै भनेकी छन्।

उनले उक्त ट्विटमा ‘द ग्याब्रिएला वुमन्स पार्टी’ को सटीक व्याख्या पनि गरेकी छन्।

झाँक्रीले ग्याब्रिएला फिलिपिन्सको एउटा प्रगतिशील राजनीतिक पार्टी भएको बताउँदै जसले महिलाको विषय र संसदमा महिलाको प्रतिनिधित्वबारे वकालत गर्ने उनले दाबी गरेकी छन्।

आलोकनगरबाट झाँक्री एक विकास योजना शिलान्यासका लागि टेकु गएकी थिइन्। त्यसपछि नयाँ पार्टीको योजनासहित झाँक्रीको विचार आएको हो।

प्रकाशित मिति: १० असार २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com