धरान । बराह सहकारी पीडितहरुलाई लिएर विवाद बढिरहेका बेला नेकपा एमालेकी नेतृ मञ्जु भण्डारीले धरानका मेयर हर्क साम्पाङलाई साइबर अपराधको मुद्दा चलाउने चेतावनी दिएकी छन्।

बराह सहकारीपीडितको नाममा आफ्नो कार्यकक्षमा तोडफोड गरेपछि मेयर साम्पाङले यसमा भण्डारीसहित एमाले नेता कार्यकर्तातर्फ औँला ठड्याएका थिए।

advertisement

यसलाई लिएर मेयर साम्पाङमाथि भण्डारीले आफ्नो फोटोसमेत दुरुपयोग गरी हुँदै नभएको कुराको आरोप लगाएको दाबी भण्डारीले गरेकी हुन्।

‘धरानका मेयर हर्क साम्पाङज्यू! बराह पीडितहरूसँगका तपाईंका प्रसंग जोडेर मेरो फोटो दुरूपयोग गर्ने र एमालेलाई लाञ्छित गर्ने काम किन गर्नु हुन्छ?’, उनले प्रश्न गर्दै भनेकी छन्, ‘तपाईंलाई साइबर अपराधबारे जानकारी नै नभएको त कसरी भनौँ?’

भण्डारीले लोकप्रियताका नाममा मेयर साम्पाङले होस गुमाएको आरोप पनि लगाएकी छन्। ‘नगर सरकारका प्रमुखले लोकप्रियताका नाममा होस गुमाउँदा नगरवासीको शीर निहुरिनेमा सजग बन्नु भयो भने मात्रै  धरानवासीको मर्यादा उँचो हुने हो’, उनले भनेकी छन्।

उता मेयर साम्पाङले भने बराह सहकारी पीडितहरुले पीडितहरुलाई न्याय दिलाउन छानबिन समिति बनाएर प्रदेश सहकारीबाट रजिष्ट्रारलेसमेत अध्ययन गरिरहँदा कार्यालयमा आक्रमण भएको बताएका छन्।

छानबिन समितिले काम गरिरहेका बेला घेराउ, नाराबाजी, गालीगलौज र कार्यालय तोडफोड भएको उनले बताएका छन्।

उनले विवाद बढेपछि आफूले हामीलाई सोधेर सहकारीमा पैसा राखेको हो र? भनेर प्रश्न गरेको स्वीकारेका छन्।

स्मरणीय के छ भने २०७४ मा निर्वाचित तत्कालीन मेयर तारा सुब्बाको निधन भएपछि मञ्जुले करिब डेढ वर्ष कार्यवाहक मेयरका रुपमा काम गरिन्।

त्यसपछि बीचमा भएको निर्वाचनमा कांग्रेसका तिलक राई विजयी भएका थिए।

तर गत वैशाख ३० गतेको निर्वाचनमा हर्क मेयरमा निर्वाचित भए। हर्क मेयर बन्दा कांग्रेसका किशोर राई दोस्रो र मञ्जु तेस्रो स्थानमा सीमित भएकी थिइन्।

प्रकाशित मिति: १६ श्रावण २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com