काठमाडौं । हिन्दुराष्ट्रको पक्षमा जनमत बढाउन भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले चन्दा संकलन अभियान सुरु गरेको छ। निर्वाचनको मुखैमा थालिएको यस अभियानलाई राप्रपाले ‘कोष वृद्धि अभियान’ भनेर नामाकरण गरेको छ ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले चन्दा संकलन अभियानको घोषणा गरेका हुन्। आर्थिक स्रोत व्यवस्थापनको जिम्मेवारी भने महामन्त्री डा. धवल शमशेर राणालाई दिइएको छ।
हिन्दुराष्ट्र पुनःस्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउनका साथै वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका पक्षमा जनमत बनाउन कोष वृद्धि अभियान थालिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए।
प्रवक्ता श्रेष्ठले भने, ‘सनातन धारको शक्तिकेन्द्र निर्माण एवं वैदिक सनातन हिन्दुराष्ट्र पुनःस्थापना गर्ने अभियानमा राप्रपाले आर्थिक सहयोग जुटाउने अभियान सञ्चालन गरेको हो।’
आर्थिक संकलन अभियानका लागि राप्रपाले गरिमा विकास बैंकमा बैंक खाता समेत खोलेको छ । बैंकको खातामा सिधै वा डिजिटल पेमेन्ट सिस्टम फोन पेबाट पनि रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको प्रवक्ता श्रेष्ठले बताए।
नेपाललाई धर्म निरपेक्षता घोषणा गरिएकोमा राप्रपाले त्यसको विरोध गर्दै आएको छ ।
प्रकाशित मिति: ३ भाद्र २०७९, शुक्रबार













प्रतिक्रिया