धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बिहीबार बसेको कार्यपालिका बैठकमा एजेन्डामाथि राय राख्दै गरेका कार्यपालिका सदस्यलाई बाहिर निस्कन निर्देशन दिएपछि बैठक बिथोलिएको छ।

सौहर्दपूर्ण बैठकमा आठौँ नम्बरको एजेन्डा ‘धरान–१७ मा रहेको सप्तरंगी पार्कलाई बहुसांस्कृतिक पार्क बनाउने’ विषयमा छलफल अघि बढिरहेको थियो। कार्यपालिका सदस्य अनुप देवानले आफ्नो धारणा राख्दै गर्दा मेयर साम्पाङले रोकेपछि बैठक बिथोलिएको हो। देवानले बहुजातीय संग्रहालय धरान– १४ मा बन्दै गरेको अवस्थामा रहेकाले त्यसलाई सफल बनाउनुपर्ने र अहिले सप्तरंगी पार्कलाई बहुसांस्कृतिक पार्क बनाउन आवश्यक नरहेको धारणा राखेका थिए।

advertisement

उनले अन्य सदस्यहरूलाई पनि यस विषयमा बोल्न अनुरोध गरेपछि मेयर साम्पाङले ‘भोट माग्ने काम’ नगर्न निर्देशन दिए। देवानले आफ्नो धारणा राख्ने काम नरोकेपछि साम्पाङले हुकुमी शैलीमा ‘बाहिर जानू’ भनेपछि बैठकमा आफ्नो धारणा राख्न नपाएकोमा आपत्ति जनाउँदै कार्यपालिका सदस्यहरू बैठकस्थल छाडेर बाहिर निस्किएका थिए।

बैठकमा कार्यपालिका सदस्यलाई हुकुमी शैलीमा धारणा राख्न रोकेर मेयरले अपमान गरेकाले आफूहरूले बैठक बहिष्कार गरेको धरान उपमहानगरका प्रवक्ता एवं १७ नम्बर वडाध्यक्ष मनोज भट्टराईले बताए। मेयरले सार्वजनिक रूपमा माफी नमागेसम्म अर्को कार्यपालिका बैठकमा उपस्थिति नजनाउने कार्यपालिका सदस्यहरूले अडान लिएका छन्।

सदस्यहरूले कार्यपालिका बैठक बहिष्कार गरेर बाहिरिएपछि अबका दिनमा एकल निर्णय गरेर अघि बढ्ने मेयर साम्पाङले सार्वजनिक घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत अब उपमहानगर तोकआदेशमा चल्ने बताएका छन्। ‘आइन्दा एकल निर्णय गरेर बढ्नेछु। झ्याँसझुसमा अल्झेर हुँदैन मैले। तोकआदेश जिन्दावाद,’ मेयर साम्पाङले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्।

 

प्रकाशित मिति: १४ आश्विन २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com