इलाम । नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा इलाम क्षेत्र नम्बर १ का उम्मेदवार झलनाथ खनालले आफूलाई हराउन व्यापक धाँधली भएको दाबी गरेका छन् ।

एमाले अध्यक्ष केपी ओलीसमेत आफूलाई हराउन लागि परेको भन्दै त्यसका लागि कर्मचारी लगायतसँग सेटिङ गर्ने काम भएको खनालको दाबी छ ।

advertisement

इलाम १ को जारी मतगणनामा पछि परेका खनालले बाक्सामा रहेको झन्डै ५ सय मत गायब पारिएको तथा मुचुल्कामा रहेको भन्दा २६६ मत बढी देखिएको पनि बताए । उनले भने,‘झन्डै ५ सय मत गायब भयो । ५ सय मत गायक भइसकेपछि यो के हो भनेर हामीले प्रश्न उठायौँ । यहाँभित्र षड्यन्त्रहरू धेरै छन् । यो भनेको धाँधली हो । यस्तो धाँधलीपूर्ण निर्वाचन हामी मान्दैनौँ ।’ उनले इलाम १ मा पुनः निर्वाचन गर्नुपर्ने आफूहरूको माग गरेको बताए । तर, त्यो मागलाई सम्बोधन नगरिएको खनालको गुनासो छ ।

‘यो कुरा माथि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग पनि गरेका छौँ । तर, हामीले नमान्दा नमान्दै पनि गणना कन्टिन्यु गर्न भनेर माथिबाट निर्देशन आएछ’, उनले भने, ‘यसपछि हामीले के निर्णय गर्‍यौँ भने यो ढङ्गको मतगणनालाई कन्टिन्यु गर्ने कुरामा सहमति छैन ।’

उनले असहमतिका बिच जारी मतगणनामा आफ्नो प्रतिनिधिको उपस्थिति रहेको तर कुनै पनि प्रक्रियामा स्वीकृति, सहमति वा हस्ताक्षर भने नगरेको बताए । ‘क्षेत्र नम्बर १ को पुनः मतदान हुनुपर्छ । आज फेरि ६ वटा बाकसको गनियो । ६ वटा मुचुल्कामा रहेको मत भन्दा २६६ मत बढी देखिएको छ । यस्तो भएपछि फेरि एउटा निवेदन दिँदै छौँ । यो चाहिँ हामी मान्दैनौँ । कसले गर्‍यो यहाँ भन्दा माथिदेखि कर्मचारीसम्मै सेटिङ भएको छ ।’

उनले आफूलाई हराउन ८ करोड भन्दा बढी पैसा बाँडिएको कुरा आइरहेको पनि बताए । एमाले अध्यक्ष केपी ओलीसहित देशी विदेशी शक्ति आफ्नो राष्ट्रवादी अडानबाट चोट पाएर हराउन मैदानमा आएको उनको आरोप छ ।

प्रकाशित मिति: १० मंसिर २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com