काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गत निर्वाचनमा निराशाजनक परिणाम आएको स्वीकारेका छन् । त्यसका बाबजुद पार्टीले अवलम्बन गरेको राष्ट्रियता, लोकतन्त्र, सनातन हिन्दुराष्ट्र र आर्थिक उदारवादको मान्यतामा आधारित सम्बर्द्धनवादको महत्व, औचित्य र आवश्यकता नेपाली राजनीतिमा टड्कारो रुपमा रहेको उनले बताए ।
काठमाडौंमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै थापाले सनातन धर्म, संस्कृति र परम्पराको रक्षा गरेर पनि देशको विकास र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताए । त्यही नै राष्ट्रनिर्माणको उपयुक्त बाटो हो भन्ने राप्रपा नेपालको मान्यताको सर्वकालिक महत्व रहेकोसमेत उनको दाबी थियो ।
राप्रपा नेपाल एउटा चुनावको लागि खडा भएको चुनाव परिचालन समिति नभएको भन्दै थापाले राप्रपा नेपाल लामो राजनीतिक यात्रामा हिँडेको राष्ट्रवादी शक्ति भएको बताए । चुनावी परिणाम प्रतिकूल रहे पनि आगामी दिनमा राप्रपा नेपाललाई देशको बलियो राष्ट्रवादी, प्रजातान्त्रिक र हिन्दुवादी शक्ति बनाउने अभियान अझ सशक्त ढंगबाट अघि बढाइनेसमेत विश्वास व्यक्त गरे ।
विद्यमान राजनीतिक संरचनाभित्र रहेका त्रुटिहरुका कारण हालै सम्पन्न निर्वाचनबाट समेत देशले भोग्नु परेको संकटको समाधान हुन नसक्ने भन्दै उनले आगामी दिनमा राजनीतिक अस्थिरता र अराजकता अझै बढ्दै जाने र नवगठित प्रतिनिधिसभा दुई÷अढाई वर्षभित्र नै दुर्घटनामा पर्न सक्ने खतरा रहेकोसमेत आशंका गरे ।
निर्वाचन अत्यन्त महँगो भएको तथा चुनावमा देखिएका विकृति र विसङ्गतिको कारण संसदीय व्यवस्थाप्रति नै वितृष्णा बढेको चर्चा गर्दै थापाले देशमा धर्म परिवर्तनको डढेलो डरलाग्दो रुपमा बढिरहेको अवस्थामा यसपटकको निर्वाचन परिणामबाट सनातन धर्म, संस्कृति र परम्पराको रक्षाको पक्षमा आवाज कमजोर हुँदै जानु चिन्ताको विषय भएको उल्लेख गरे ।
संसद्मा प्रतिनिधित्व नभएको कारण अब राप्रपा नेपालले हिन्दुराष्ट्र पुनःस्थापना र भ्रष्टाचारलगायतका आफ्नो एजेण्डाहरु स्थापित गर्न सडकमा क्रियाशील हुनु आवश्यक भएको उनले बताए ।
थापाले आगामी चैत÷वैशाखमा राप्रपा नेपालले देशव्यापी सडक संघर्षको कार्यक्रमसमेत सञ्चालन गर्नु आवश्यक भएकोले सोहीबमोजिम तयार रहनसमेत कार्यकर्ताहरुलाई निर्देशन दिए ।
प्रकाशित मिति: ३ पुस २०७९, आइतबार












प्रतिक्रिया