काठमाडौँ । रौतहट-३ बाट निर्वाचित प्रभु साह र सर्लाही-४ बाट निर्वाचित अमरेशकुमार सिंह नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउन पुस १० गतेसँगै शीतल निवास गएका थिए ।

उनीहरूले समेत समर्थन गर्ने भएपछि प्रधानमन्त्री दाबी गरिएको पत्रमा दुवैको नाम अन्तिममा हातैले लेखिएको थियो ।

advertisement

तर, पुस २४ गते सांसदद्वय साह र सिंहले संसद सचिवालयलाई आफूहरू प्रतिपक्षी बेञ्चमा बस्ने जानकारी गराएका छन् ।

संघीय संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार सांसदहरुलाई सोधेर सिट व्यवस्थापन गरिएको छ । सचिवालयका अधिकारीहरूलाई सांसदद्वय सिंह र साहले प्रतिपक्षी बेञ्चमा बस्ने जानकारी गराएका हुन् ।

नेकपा एमाले तत्कालीन स्थायी समिति सदस्यसमेत रहेका प्रभु साहले मनोनयन दर्ताको अन्तिम समयमा पार्टीको टिकट गोजीमा राखेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । यही क्षेत्रबाट उनको यो लगातार चौथो जित हो । २०६४ सालदेखि साहले यस क्षेत्रबाट प्रतिनिधित्व गर्दै आएका छन् ।

अर्का स्वतन्त्र सांसद अमरेशकुमार सिंह बागी उठेर चुनाव जितेका सांसद हुन् । पार्टीले टिकट नदिएपछि सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्र चुनाव लडेका काँग्रेसका बागी उम्मेदवार सिंहले काँग्रेसकै उम्मेदवार नागेन्द्र कुमारलाई पराजित गरेका हुन् ।

यस्तै, स्वतन्त्र सांसद योगेन्द्र मण्डलले पनि प्रतिपक्षी बेञ्चमा बस्ने जानकारी गराएका छन् । मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनसहित एमाले र जसपाको गठबन्धनलाई फराकिलो मतान्तरले हराउँदै स्वतन्त्र उम्मेदवार मण्डल विजयी भएका थिए ।

 

प्रकाशित मिति: २४ पुस २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com