काठमाडौं । सर्प र सहयोगका नाममा करोडौं कुम्ल्याएका पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा शोषक वर्ग र भ्रष्टाचारीहरूको कमी नभएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
खनालले नेपालमा दलाल पुँजीपति, शोषकहरू, कमिसन खोरहरू, भ्रष्टाचारी, मुनाफा खोरी र विदेशीका दलालहरु रहेको बताए। उनले यस्ता व्यक्ति नेपालीहरुका शत्रु रहेको उल्लेख गर्दै यिनीहरुले गरेको क्रियाकलापले राष्ट्रलाई विनाश गर्ने बताए।
जनतालाई भुलाउन र राष्ट्रलाई लुट्ने काम भइरहेको भन्दै खनालले उनीहरुको लुटपाटको विरोध र भण्डाफोर गर्ने काममा लाग्नुपर्ने बताए। ‘अहिले हामीसँग दलाल पुँजीपतिहरु छन्, शोषकहरु छन्, कमिसन खोरहरु छन्, भ्रष्टाचारीहरु छन्, मुनाफा खोरीहरु छन्। विदेशीहरुका दलालहरु छन्’ उनले भने–‘यी हाम्रा शत्रु हुन्। यिनीहरुले जे क्रियाकलाप गरिरहेका छन्, यो राष्ट्रलाई विनाश गर्ने, जनतालाई भुलाउने, राष्ट्रलाई लुट्ने काम गरिरहेका छन्।’
पूर्वप्रधानमन्त्री खनालले गत असोजमा मात्रै आर्थिक सहयोगका नाममा सरकारबाट २० लाख रुपैयाँ लिएका थिए। सत्ता, शक्ति र दल निकटका आसेपासेलाई पनि ५० हजारदेखि ५ लाख रुपैयाँसम्म आर्थिक सहयोग उपलब्ध गराउँदा सरकारले खनाललाई २० लाख दिने निर्णय गरेको थियो।
यसअघि पनि खनालले उपचार गराउने नाममा सरकारबाट ८० लाख रुपैयाँ लिएका थिए । उनकै नाममा खोलिएको प्रतिष्ठानमार्फत सर्लाहीमा सर्प पाल्न सरकारले खनालको नाममा रहेको प्रतिष्ठानलाई मोटो रकम दिएकोमा विरोध भएको थियो ।
प्रकाशित मिति: २९ माघ २०७९, आइतबार













प्रतिक्रिया