काठमाडौं । मन्त्रिपरिषद् बैठकमा उपप्रधानमन्त्री समेत रहेका ऊर्जामन्त्री राजेन्द्र लिङ्देन, परराष्ट्रमन्त्री विमला राई पौड्याल, स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले फागुन १ गते सार्वजनिक विदा घोषणाको विरोध गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले गतसाता मात्रै सार्वजनिक विदा धेरै भएकाले त्यसलाई परिमार्जन गर्नुपर्ने बताएका थिए । गत मंगलबार प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा उनले सरकारी विदा धेरै भएकाले सेवा प्रवाहमा समस्या भएको बताएका थिए ।

advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार, सार्वजनिक विदाको घोषणामा आपत्ति जनाएकी परराष्ट्रमन्त्री विमला राई पौड्यालले आफ्ना कयौ कामहरु भएकाले मन्त्रालयमा जाने र काम गर्ने बताएकी थिइन् ।

कांग्रेस नेता शेखर कोइरालाले पनि सरकारको निर्णयमाथि प्रश्न उठाएका छन् । ‘एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक विदा कटौती गरौं भन्न हुनुहुन्छ, एकाएक सरकारले आएर संविधानले चिन्दै नचिनेको जनयुद्ध दिवसको नाममा सार्वजनिक विदा दिने घोषणा गरेको छ,’ उनले ट्विटमार्फत भनेका छन्, ‘आम नेपालीसामू सरकारले के सन्देश दिन खोजेको ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ ?’

सार्वजनिक विदा पुनरावलोकन हुनुपर्ने खाका प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमै छलफलका क्रममा छ । ‘जुनसुकै चाडबाडमा पनि विदा दिने र त्यसले सेवा प्रवाह प्रभावित हुने भएपछि सार्वजनिक सेवामा रहेकाहरुलाई निश्चित विदा छुट्याएर दशैं, तिहार र अरु महत्वपूर्ण चाड बाहेकमा विदा नदिने कि भन्ने सोचमा काम भइरहेको थियो’ स्रोतले भन्यो, ‘सरकारले आगामी वर्ष दिने सार्वजनिक विदाको सूची बैशाख नलाग्दै राजपत्रमा प्रकाशित गर्नुपर्ने भएकाले छलफल भइरहेको थियो । राजपत्रमा प्रकाशित हुने बाहेक सरकारले विभिन्न समयमा विशेष निर्णय गरेर समेत सार्वजनिक विदा दिँदा समस्या भएको छ ।’

पूर्वसचिव चन्द्र घिमिरेले विदाको विरोधमा ट्विटरमा लेखेका छन्, ‘हरेक सरकारका लागि सबैभन्दा सजिलो काम सचिव सरूवा, विदा हेरफेर, केही थान नियुक्ति, आर्थिक सहायता र विदेश भ्रमण । नमिलेको भए भनौँ है !’ राजनीतिक विश्लेषक विष्णु सापकोटाले सत्तासुख बाहेक राजनीतिक दलहरुलाई सरकारमा गएको उद्देश्य पनि थाहा हुन छाडेको भनी टिप्पणी गरेका छन् ।

‘अलिकति विवेकसम्मत सोच्ने माओवादी स्वयंले यस्तो निर्णयमा लाज मानेको हुनुपर्छ’ उनले ट्विटरमा लेखेका छन्, ‘जनयुद्ध दिवसमा विदा दिनुले प्रचण्डको सुशासनको बुझाइ कति गहन रहेछ भन्ने देखाउँछ । यो कार्यले जनयुद्धकै भावनाको पनि सम्मान गर्दैन । सत्ता आशक्तिले एमाले र राप्रपालाई भित्रभित्र कति खियाइसकेको रहेछ (भन्ने) यसले पनि देखाउँछ ।’

सार्वजनिकस्तरबाट समेत विदाको विरोध भएको छ । द्वन्द्वपीडित सुमन अधिकारीले सोमबार बिहान ११ बजे सिंहदरबार अगाडि धर्ना दिएर विदाको विरोध गर्ने बताए । उनका अनुसार, संक्रमणकालिन न्याय र दोषीलाई कारवाही गर्नुको साटो सरकारले जनयुद्ध शुरु भएका दिन विदा दिनु द्वन्द्वपीडितहरुको अपमान हो ।

बैंकिङ क्षेत्रमा काम गर्ने प्रकाश भण्डारीले भनेका छन्, ‘विदा बहिस्कार गरेको कसूरमा कुनै कानूनी सजायको भागिदार हुनुपर्छ ?’ जवाफमा संवैधानिक कानूनविद् डा. विपिन अधिकारीले लेखेका छन्, ‘व्यक्तिले सम्बन्धित समारोह वा उत्सवमा भाग नलिन सक्छन्, तर कानूनी रुपमा विदा अस्विकार गर्न सक्दैनन् । तर बिदा अस्विकार गर्दा कुनै सजायको व्यवस्था छैन ।’

प्रकाशित मिति: १ फाल्गुन २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com