काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मंसिर ४ को निर्वाचनमा एमालेलाई छाडेर तत्कालीन ५ दलसँग चुनावी गठबन्धन गरेको भए राष्ट्रिय पार्टी बन्न नसकिने बताएका छन् ।
जसपा रुपन्देहीले बुधवार भैरहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले भने, ‘तालमेलमा कहीँ फाइदा र कहीँ नोक्सान हुन्छ ।’ पाँच दलीय गठबन्धनबाट निर्वाचनमा ९ सीटमा जसपा निर्वाचन लडेको भए राष्ट्रिय पार्टी बन्ने थिएन, न हाम्रो नेतृत्वमा प्रदेश सरकार बन्थ्यो न अहिलेजस्तो भूमिका रहन्थ्यो ।’
उनले पार्टीले गरेको निर्णय सही भएको दाबी गर्दै समय परिस्थितिअनुसार गठबन्धन र तालमेल फेरबदल हुनसक्ने बताए । तर निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन नभई केही सीटमा तालमेल मात्र भएको उनले बताएका छन् ।
उनले पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा ९ र प्रदेशसभा सदस्यमा २१ सिट दिने भनिएपछि गठबन्धनबाट जसपा बाहिरिएको बताए । यादवले केपी ओली नेतृत्वको सरकारमा जसपा सहभागी भए पनि असंवैधानिक रूपमा दुई पटक संसद् विघटन गरिएपछि लोकतन्त्रको रक्षाका लागि असंवैधानिक कदमको विरोध गर्दै जसपाले प्रदर्शन गरेको बताए ।
अध्यक्ष यादवले काँग्रेस, एमाले र माओवादी केन्द्र एक्लै निर्वाचन लड्नसक्ने अवस्थामा नरहेको जिकिर गरे । गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेससँग गठबन्धन गरेका स्थानमा सफलता प्राप्त नभएपछि काँग्रेससँग एलायन्स गर्दा पार्टीलाई फाइदा नभएको निष्कर्षमा पुगेको उनको भनाइ छ ।
काँग्रेससँग गठबन्धन गर्दा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रत्यक्षतर्फ १० सीट जिते पनि राष्ट्रिय पार्टी बन्न नसकेको उनले बताए । जसपा गठबन्धनबाट बाहिरिएपछि महन्थ ठाकुर नेतृत्वको लोसपा गठबन्धनमा सहभागी भएपनि राष्ट्रिय पार्टी बन्न नसकेको उनले बताए ।
अध्यक्ष यादवले लुम्बिनी प्रदेशमा केही समयपछि जसपा सरकारमा सहभागी हुने जानकारी दिँदै उनले जसपाले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गरी विश्वासको मतसमेत दिए पनि सरकारमा सहभागी नभएको बताए । उनले नागरिकतासम्बन्धी समस्या समाधान, सत्ता साझेदारीमा समानजनक सहभागिता हुनुपर्ने जसपाको माग रहेको बताए । सीट बांडेर बाँकी जसपालाई दिने कुरा स्वीकार्य नहुने उनको भनाइ छ ।
सङ्घीयतालाई मजबुत बनाउन संघीय कानून आवश्यक रहेको उनले बताए ।
प्रकाशित मिति: ३ फाल्गुन २०७९, बुधबार












प्रतिक्रिया