काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थासँग सहकार्य गर्न दलहरूसँग गरेको प्रस्तावको कुनै अर्थ नभएको बताएका छन्।
विराटनगरमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले पूर्वराजा आफैं अलमलमा रहेको र त्यो प्रस्तावको कुनै अर्थ नभएको बताए।
पूर्वराजा शाहले प्रजातन्त्र दिवसको शुभकामना दिँदै राजसंस्था र दलहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेका थिए।
यसपछि एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंमाथि परेको उजुरी र कारबाहीबारे सोधिएको प्रश्नमा ओलीले ‘पानीको लेबल आफैं मिल्दै जाने’ प्रतिक्रिया दिए।
नेकपा एमाले प्रदेश नम्बर १ ले केही दिनअघि प्रसाईंलगायतमाथि कारबाही गर्न केन्द्रमा पत्राचार गरेको थियो। प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र र उनका छोरा पारशलाई सँगै राखेर केही दिनअघि अभियान सुरू गरेका थिए।
प्रसाईंलाई कारबाही गर्नेबारे सोधिएको प्रश्नमा ओलीले भने, ‘तपाईंहरूलाई कारबाही खुब चासो छ। एकातिर भीम रावल कराउँदै हिँड्नुहुन्छ। अर्कोतिर केन्द्रीय सदस्य (दुर्गा प्रसाईं) के गर्दै हिँड्छन्, पानीको लेबल आफैं मिल्दै जान्छ।’
प्रकाशित मिति: ७ फाल्गुन २०७९, आइतबार











प्रतिक्रिया