काठमाडौं । सत्ता गठबन्धनबनबाट बाहिरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र असन्तुष्टि भुसको आगोझैँ बढ्दैछ । सरकारमा जाने वा नजाने भन्नेमै विवादित राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति अहिले राष्ट्रपति चुनावमा भाग लिने कि नलिने भन्नेमा विभाजित छ । त्यही विवादका कारण १२ फागुनको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिको चुनावमा समर्थक र प्रस्ताव नबस्ने निर्णय गरेको थियो ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ट्युनिङ मिल्ने ठानिएका अध्यक्ष राजेन्द्र लिङ्देन एमाले उम्मेदवारको समर्थक वा प्रस्तावक बस्न सक्ने अनुमान गरिएको थियो । राप्रपाभित्र राष्ट्रपति चुनावको पक्षमा उभिन नहुने मत पनि रहेको छ । यो मतका पक्षधर राजावादी पार्टीले राष्ट्रपतिमा मतदान गर्न नहुने धारणा राखिरहेका छन् । यद्यपि, संविधानलाई स्वीकार गरेर संसदमा पुग्ने अनि त्यही संविधानअनुसार शपथ खाएर मन्त्री पनि हुने तर राष्ट्रपतिमा भाग लिन नहुने तर्क नसुहाउने अर्को पक्षको मत रहेको छ ।

advertisement

खासगरी, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, रवीन्द्र मिश्र, जगत गौचनलगायतका दर्जन नेताहरू राष्ट्रपतिको चुनावमा भाग लिन नहुने पक्षमा देखिएका हुन् । राप्रपा स्रोतका अनुसार यो मतमा महामन्त्री धवलशमशेर राणा पनि रहेका छन् । सांसद ज्ञानेन्द्र शाहीले पनि औपचारिक रूपमै राष्ट्रपतिमा मतदान गर्न नहुने बताइरहेका छन् । राप्रपाभित्र यस्तो मत विभाजनको अवस्था आउनुको खास कारण दुईवटा मानिएको छ ।

एक, अध्यक्ष लिङ्देनको कार्यशैली चित्त नबुझाएका र धोका पाएकाहरू । अर्थात्, महाधिवेशनमा सहयोग गरेका प्रकाशचन्द्र लोहनीलाई सांसद बनाउने आश्वासन दिएर पनि लिङ्देनले समानुपातिक सूचीमै दोस्रो नम्बरमा पारिदिए । अनि, संसदीय दलको नेता बनाइदिन्छु भनेर आर्थिक सहयोगसमेत लिएका पशुपतिशमशेर राणालाई दलको नेता हुनबाट रोके । यो परिघटनाले दुई शीर्ष नेता पहिलादेखि नै रुष्ट बनेका थिए । अनि, मन्त्री हुन चाहेका बुद्धिमान तामाङ, धवलशमेशर राणाहरू पनि अहिले अध्यक्ष लिङ्देनसँग असन्तुष्ट छन् ।

त्यसो त, चुनावमा पर्याप्त सहयोग नपाएको भन्दै रवीन्द्र मिश्र पनि असन्तुष्ट छन् । उनीहरू सबै अहिले राष्ट्रपतिको चुनावमा भाग लिन नहुने पक्षमा रहेका छन् । दोस्रो कारण चाहिँ पूर्वराजा ज्ञानेन्द्र शाहसँग बिग्रिँदो सम्बन्ध । पूर्वराजा ज्ञानेन्द्रसँग सम्बन्धमा चिसोपना आउन थालेपछि राप्रपाभित्र असन्तुष्टि देखिन थालेको हो ।

राजा ज्ञानेन्द्रले राप्रपाभन्दा दुर्गा प्रसाईंको मेचीकाली अभियानलाई प्राथमिकता दिएको राप्रपाभित्र गुनासो रहेको छ । त्यसो त, ज्ञानेन्द्रले राप्रपालाई सरकारमा नजान सुझाव दिएको तर अध्यक्ष लिङ्देनले एमाले अध्यक्ष ओलीको सहजताका लागि सरकारमा गएको भन्दै असन्तुष्ट रहेको चर्चा पनि भइरहेको थियो । अहिलेसम्म अध्यक्ष लिङ्देन भने मौन रहेका छन् । उनले राष्ट्रपतिको चुनावमा के गर्ने भन्ने धारणा बनाइसकेका छैनन् । पार्टीभित्र बढ्दो असन्तुष्टिका कारण १८ फागुनमा केन्द्रीय समिति बैठक बस्ने तयारी छ । केन्द्रीय समितिबाट धारणा बनाएर राष्ट्रपति चुनावमा भाग लिने वा नलिने निर्णय लिने बताइएकाे छ ।

प्रकाशित मिति: १४ फाल्गुन २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com