काठमाडौं । भक्तपुरको कमलविनायकबाट नगरकोट जाने १७ किलोमिटर सडक विस्तार र स्तरोन्नतिको काम २०७० सालमा सुरू भएको थियो। दुई वर्षमा पूरा गर्ने भनिएको यो सडकको काम नौ वर्ष बितिसक्दा पनि सकिएको छैन।

बेलैमा निर्माण सम्पन्न नभएर आक्रोशित स्थानीयले बिहीबार सडक अनुगमनमा पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष आफ्नो रिस पोखेका छन्।

advertisement

मन्त्री श्रेष्ठ र भारतीय राजदूत नवीन श्रीवास्तवसहितको टोली बिहीबार सडक अनुगमनका लागि नगरकोट पुगेको थियो। त्यही बेला स्थानीयले ‘जुनसुकै मन्त्री फेरिए पनि सडकको हालत नफेरिएको’ भन्दै आक्रोश पोखेका हुन्।

‘नौ वर्ष भइसक्यो, हामीले कति धुलो खानु? धुलो खाएरै रोगले मर्नु?’ एक स्थानीयले मन्त्री श्रेष्ठसँग भनिन्।

नगरकोटको बास्तोला गाउँका एक स्थानीय त मन्त्रीको गाडी रोक्न बाटैमा बसेका थिए। उनले बेलैमा निर्माण सम्पन्न नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्नुपर्नेमा सरकारले संरक्षण गरेको आरोप लगाए।

यो सडकको निर्माण ठेक्का शैलुङ कन्स्ट्रक्सनले पाएको छ, जसका सञ्चालक शारदाप्रसाद अधिकारी प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरबेटी हुन्।

‘प्रचण्डको घरबेटी भनेर सरकारले अहिलेसम्म ठेकेदारलाई कारबाही गरेको छैन। तपाईंहरू काम नगर्ने ठेकेदारलाई कहिलेसम्म संरक्षण गरिरहनुहुन्छ? कारबाही किन गर्नुहुन्न?’ सडक किनार उभिएका एक वृद्ध मन्त्रीको गाडी नजिक आएपछि ठूलो स्वरमा कराए।

ठेकेदारले लामो समयदेखि सडक नबनाउँदा आफूहरूले सास्ती झेल्नुपरेको यहाँका स्थानीयको गुनासो छ।

‘यो सडकले हामीलाई बसिनसक्नु भइसकेको छ। धुलोले वरिपरि केही देखिँदैन। मन्त्री आउने भएपछि चाहिँ सडकमा रातारात पानी खन्याउने काम गरियो, रातारात अलकत्रा पोखियो,’ एक स्थानीयले भने।

सडक अनुगमनपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठले दुई वर्षमा सक्नुपर्ने सडक नौ वर्षसम्म नसकिनु लज्जास्पद भएको स्वीकार गरेका छन्।

प्रकाशित मिति: १८ फाल्गुन २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com