काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजा ज्ञानेन्द्र शाहलाई राजतन्त्र चाहिने भए सडकमा आउन चुनौति दिएका छन्। राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउँ महाअभियानअन्तर्गत काठमाडौँको नयाँ बनेश्वरमा आयोजित कार्यक्रममा उनले यस्तो चुनौति दिएका हुन्।
शनिबार सभामा सहभागीले राजतन्त्र जिन्दावाद भन्दै गर्दा उनले अहिले राजतन्त्र जिन्दावाद नभन्न आग्रह गरे। ‘तपाईंहरु राजतन्त्र जिन्दावाद पनि नभन्नुस्। राजतन्त्र चाहिने भए त राजा पनि सडकमा आउनु पर्यो नि,’ मेडिकल व्यवसायी प्रसाईंले भने, ‘दरबारभित्र बसेर राजा चाहियो भनेर कहाँ हुन्छ ? हामीसँग आउनुपर्यो। हामीलाई सहयोग गर्नुपर्यो।’
उनले आफूले राजा देखाएर रोटी साट्ने व्यक्ति नरहेको राजालाई अर्को चुनौति दिए। प्रसाईंले भने,‘म राजा देखाएर रोटी साट्ने व्यक्ति होइन। म राजा देखाएर सांसद बनेर जाँदैन।’
सत्तामा फर्किने गरी आफूले लडेर माहोल बनाइदिएको राजलाई सन्देश दिँदै उनले नागरिक भएर सडकमा आउन आग्रह गरे। उनले भने, ‘राजालाई म के भन्न चाहन्छु भने म मकैबारीमा जन्मिएको हुँ। मैले लडेर यतिको महोल खडा गरिदिएको छु। तपाईं पनि सडकमा आउनुहोस। तपाईंलाई राजा बनाउने कि बाजा बनाउने सडकका जनताले गर्नेछन्। तपाईं जनताको सामु आउनुहोस। नागरिकको हैसियतले आउनुहोस। तपाईंलाई हामी स्वागत गर्छौँ।’
प्रकाशित मिति: २० फाल्गुन २०७९, शनिबार












प्रतिक्रिया