काठमाडौं । सामाजिक सञ्जालमा चर्चित एमालेका नेता पुण्य गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आज भेटेर आफूलाई चितवन-२ को उपनिर्वाचनमा टिकट दिन आग्रह गरेका छन् ।
गौतमले चितवन-२ बाट रवि लामिछानेलाई पराजित गरेर आफू निर्वाचित हुने दावी समेत गरेका छन्।
सामाजिक सञ्जालमा तस्वीर राखेर गौतमले अध्यक्षसँग सार्थक र प्रभावकारी कुराकानी भएको बताएका छन् । त्यसअघि उनले चितवनका एमाले नेताहरु र त्यहाँका फिल्ड कमाण्डर गोकुल बास्कोटासँग पनि छलफल गरेका थिए ।
पुन्य गौतमले अध्यक्ष ओलीबाट आफूले सकारात्मक रेस्पोन्स पाएको दाबी गरे । ‘तपाईंको नामबारे पनि गम्भीर चर्चा भइरहेको छ, भरेसम्ममा निर्णय लिन्छौं भन्नुभयो’, गौतमले भने ।
ओलीसँगको भेटमा गौतमले आफू चितवनबाट चुनाव जितेर आउने दाबी गरेका थिए । ‘म रवि लामिछानेलाई हराउन सक्षम छु । यही कुरा अध्यक्षज्यूसमक्ष राखें । पार्टीले मेरो क्षमताको मूल्यांकन गरेर टिकट दिनेमा आशावादी छु’, उनले भने ।
आफूले टिकट पाएको खण्डमा राष्ट्रियतालाई मुख्य मुद्दाका रुपमा उठाउने गौतमले बताए ।
प्रकाशित मिति: १७ चैत्र २०७९, शुक्रबार













प्रतिक्रिया