काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको आज सय दिन पुगेको छ ।

सरकारको सय दिनलाई ‘हनिमुन अवधि’ भनिन्छ र यस अवधिमा गरेका कामले सरकारको आउँदाे यात्राको सङ्केत गर्छ । तर प्रचण्ड नेतृत्वको वर्तमान सरकारको सय दिन भने नयाँ गठबन्धन बनाउने, भत्काउने र पुरानै गठबन्धनमा फर्किने राजनीतिक दाउपेचमै बितेको छ ।

advertisement

आफ्नो तेस्रो कार्यकालमा इतिहासमा सम्झनालायक केही काम गर्छु भन्ने घोषणा गरेका प्रधानमन्त्री प्रचण्डले सातौँपटक पुनर्गठन गर्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्। प्रधानमन्त्री प्रचण्ड परिणाममुखी काम गर्नुभन्दा पनि प्रचारमुखी मात्र भएको र सत्ता टिकाउनमै ध्यान केन्द्रित गरेको भन्दै आलोचना भइरहेको छ ।

प्रधानमन्त्रीको शपथ खाएलगत्तै सरकारी सेवालाई प्रक्रियामुखीबाट परिणाममुखी बनाउने मन्त्रिपरिषद्को पहिलो निर्णय कार्यान्वयन हुन सकेको छैन । राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र बनाउने क्रममा सेवाग्राहीले भोग्नुपरेको सास्ती हटाउन सरकारले देखाएको तदारुकता पनि अहिले सेलाएको छ । राहदानी विभागमा लाइन घटे पनि अरु सास्ती उस्तै रहेको सेवाग्राहीले बताएका छन् । सरकारको सय दिनमा जति काम हुनुपर्ने थियो, त्यति काम गर्नसरकारले नसकेको जनगुनासो छ ।

तर सरकारले भने सय दिनमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरेको छ । सरकारका प्रवक्तासमेत रहनुभएकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सेवा प्रवाह र कानुन निर्माणको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको दाबी गरेकि छन् । सरकारी कामकाजको सन्दर्भमा धेरै भिडभाड हुने ठाउँहरू व्यवस्थित हुँदै गरेको उनको दाबी छ ।

त्यस्तै, किसानको समस्या समाधान गर्न दूध र गहुँको समर्थन मूल्य तोकिएको भन्दै त्यो पनि सरकारको उपलब्धि भएको उनले बताए ।

प्रचण्ड गएको पुस १० गते एमालेको सहयोगमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । तर नयाँ गठबन्धनबाट प्रधानमन्त्री बनेको १५ दिन नपुग्दै उहाँ कांग्रेस नेतृत्वको पुरानै गठबन्धनमा फर्कने निष्कर्षमा पुगे । पुस २५ गते उनले कांग्रेससँग विश्वासको मत माग्नुभयो र त्यसको बदलामा राष्ट्रपतिमा सहयोग गर्ने वचन दिनुभयो । त्यसपछि कांग्रेस सांसदहरुबाट समेत उनले विश्वासको मत पाए ।

दलहरु सरकारबाट बाहिरिने र मन्त्रीहरुले राजीनामा दिने शृङ्खला भने प्रचण्ड प्रधानमन्त्री बनेको एक महिनापछि सुरु भएको थियो । पुस १० गतेको सहमति बमोजिम गृह मन्त्रालय छोड्न प्रचण्ड तयार नभएको भन्दै माघ २२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोडेको थियो । राष्ट्रपतिमा माओवादीले कांग्रेसलाई सघाएसँगै एमाले र राप्रपालेसमेत सरकार छाडेपछि एक महिनासम्म १६ वटा मन्त्रालयमा मन्त्री नियुक्त हुन सकेनन् ।

सरकारमा अरु घटक नभएको मौकामा प्रचण्डले कतिपय एकल निर्णय गरेका छन् । आफ्नै नेतृत्वमा सशस्त्र सङ्घर्ष सुरु गरिएको दिन फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय भएको छ ।

यस्तै, माओवादी सशस्त्र युद्धमा मारिएकालाई शहीदको सूचीमा राख्ने काम पनि भैसकेको छ । अनमीनको प्रमाणीकरणमा नपरेका अयोग्य लडाकुलाई राहत दिने प्रक्रियाको थालनी समेत यहीबेला भएको छ ।

सत्ता गठबन्धन बदलिएकाले दुई महिनाभित्रै प्रचण्डले गएको चैत ६ गते दोस्रो पटक विश्वासको मत लिए। त्यसको ११ दिनपछि प्रचण्डले गएको शुक्रवार सातौँपटक मन्त्रिपरिषद् पुनर्गठन गरे। तर नेपाली कांग्रेससहित ६ दल समेटेर गरिएको ११ नयाँ मन्त्रीको नियुक्तिले समेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

 

प्रकाशित मिति: २० चैत्र २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com