काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक केही समय पछिका लागि सारेको छ।

बुधबार बिहान ९ बजेका लागि बोलाइएको बैठक बुधबार नै दिउँसो २ बजे बस्ने गरी सारिएको महामन्त्री डा. मुकुल ढकालले बताए।

advertisement

‘केन्द्रीय सदस्यहरू उपत्यका बाहिर पनि रहेकोले केही समय बैठक सारिएको हो, अरू कुनै कारण छैन,’ उनले भने।

रास्वपाका सभापति रवि लामिछाने र अधिकांश केन्द्रीय सदस्यहरू उपनिर्वाचन प्रचारप्रसारका लागि तनहुँ, चितवन र बारामा भएकोले काठमाडौं आइपुग्न समय लाग्ने भएको हो।

केन्द्रीय समितिको बैठकका निर्णय पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने महामन्त्री ढकालले बताए।

पार्टीबाट समानुपातिकतर्फ सांसद रहेका ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईबीच कुराकानीको अडिओ सार्वजनिक भएपछि रास्वपाले अनुशासन समितिमार्फत् छानबिन गरेको थियो।

श्रेष्ठलाई सांसद र पार्टीका जिम्मेवारीबाट निलम्बन गरेर रास्वपाले छानबिन गरिरहेको छ।

श्रेष्ठसँग रास्वपाको अनुशासन समितिले अडिओ प्रकरणबारे मंगलबार बयानसमेत लिइसकेको छ।

मेडिकल व्यवसायी प्रसाईसँग २ करोड रुपैयाँ मागेको अडिओ आफ्नो नभएको दाबी बयानका क्रममा श्रेष्ठले गरेका छन्। उनले अडिओ एडिट गरिएको दाबीसमेत गरेका थिए।

श्रेष्ठसँग सोधपुछ गरेर अनुशासन समिति प्रमुख भरतमणि देवकोटाले प्रतिवेदन पार्टीमा बुझाइसकेका छन्। उक्त प्रतिवेदन सभापति लामिछानेलाई बुझाइएको छ। अनुशासन समितिले बुझाएको प्रतिवेदन केन्द्रीय समिति बैठकमा पेश गरी आवश्यक छलफल र निर्णय लिने तयारीमा रास्वपा छ।

२ करोड मागेको अडिओ श्रेष्ठकै रहेको पुष्टि भएमा रास्वपाले सांसद र पार्टीको साधारण सदस्यबाट उनलाई हटाउने सम्भावना छ।

 

प्रकाशित मिति: २९ चैत्र २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com