काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थप एक सांसदसहित शुक्रबार प्रतिनिधिसभा बैठकमा सहभागी भए ।
१० वैशाखको उपचुनावमा चितवन–२ बाट निर्वाचित लामिछानेसँगै तनहुँ–१ बाट निर्वाचित स्वर्णिम वाग्लेले शुक्रबार सभामुखसमक्ष पद तथा गोपनियताको सपथ दिए । लगतै हिउँदे अधिवेशनको अन्तिम बैठकमा सहभागी भए ।
लामिछाने १३ माघमा सांसद पदबाट पदमुक्त भएका थिए भने वाग्ले पहिलो पटक सांसद भएका हुन् । उपचुनावबाट थप एक सिट बनाएर २१ सांसद भएको संसदको चौथो दल रास्वपा शर्तसहित सरकारमा जाने मनस्थितिमा देखिएको छ ।
आफूले चाहेको खण्डमा सरकार बन्ने र ढल्ने परिस्थिति बनाएको आत्मविश्वासमा पुगेको रास्वपाले शर्तहरु राखेर पूरा हुने अवस्था भए समर्थनलाई कायम राख्ने र रोजेको मन्त्रालय पाए सरकारमा समेत सहभागी हुने मनस्थिति बनाएको छ ।
रास्वपाका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार उपचुनावपछि प्रतिपक्षमा रहनुपर्छ भन्ने मनस्थितिमा पुगे पनि औपचारिक छलफल र निर्णय भएको छैन । तर अहिले सरकारमा जाँदै नजाने भन्ने नभएको भन्दै उनले भने, ‘हामीले नागरिकलाई डेलिभरी दिनसक्ने गरी मन्त्रालयलाई स्वतन्त्र हिसाबले सञ्चालन गर्न सक्ने अवस्था रह्यो र जनतालाई हामीले भनेका एजेन्डामा काम गर्न मिल्ने अवस्था बन्यो भने सरकारमा पनि सहभागी हुन्छौं ।’
यसका लागि पार्टीले पाउने मन्त्रालय, सरकारले पछिल्लो गठबन्धनसँग मिलेर बनाएको न्यूनतम साझा नीति तथा कार्यक्रमको पुनर्लेखन र सरकार कम्तिमा दुई वर्षसम्म टिक्ने ग्यारेन्टी हुनुपर्ने बताए । ‘त्यसो भयो भने जनताको लागि काम गर्न आएका हौं, काम गर्छौं । तर, त्यो अवस्था देखिँदैन,’ उनले भने ।
प्रकाशित मिति: १६ बैशाख २०८०, शनिबार












प्रतिक्रिया