काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका दुई नेत्री आरजु राणा र मञ्जु खाण मुछिएको अडिओ क्लिप प्रहरी समक्ष पुगेको छ।

पक्राउ परेका व्यक्ति र पीडितबीच अडिओमा कुराकानी भएको सुनिन्छ। अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार उक्त अडिओ गिरोहका सदस्य सन्देश शर्मा र नक्कली भुटानी बनेर अमेरिका उड्न चाहने व्यक्तिको हो। उनीहरू बीचको कुराकानीमा राणा र खाणलाई गरी साढे आठ करोड रुपैयाँ बुझाएको भन्ने सुनिन्छ।

advertisement

अर्को अडिओ क्लिपमा कांग्रेसकै नेता शेखर कोइराला र सुजाता कोइरालालाई मुछिएको छ। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने विषयमा यी नेतासँग कुराकानी भईरहेको शर्मा र अमेरिका उड्न चाहने व्यक्तिबीचको अडिओ सुनिन्छ। यसमा आर्थिक लेनदेनको विषयमा भने छैन।

अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार पीडितहरूले यो गिरोहका सदस्यसँग गरेका थुप्रै कुराकानीको अडिओ प्रहरीसँग पुगेको छ। “अडिओमा विभिन्न नेताहरूलाई पोले अनुसारका प्रमाण हामी संकलन गरिरहेका छौं,” ती अधिकारी भन्छन्, “यस्ता अडिओ त थुप्रै छन्। त्यसको वास्तविकतामा पुग्ने चरणमा छौं।” अनुसन्धानकै विषय भएकाले अझै थुप्रै विषय खोल्न नमिल्ने समेत उनको भनाइ छ।

प्रायः पीडितहरूले गिरोहका सदस्यसँगका भएका संवादको रेकर्ड राखेको समेत उनले बताए। “अन्य सबुदसँग जोड्ने प्रयास गरिरहेका छौं,” ती अधिकारीले भने।

८७५ जनालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने गरी सरकारी कागजातमा नाम थपेको अनुसन्धानबाट खुलेको थियो। गृह मन्त्रालयले २०७६ जेठमा सहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी सम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउने भन्दै कार्यदल बनाएको थियो।

कार्यदलले भुटानी शरणार्थीको अभिलेख राख्न सूची पनि बटुलेको थियो। यही प्रतिवेदनमा गिरोहले ‘दर्ता छुट’ सूची भन्दै अनाधिकृत नाम थपेर मानव तस्करी गरेर अमेरिका पुर्‍याउन खोजेको हो। यसका लागि प्रतिव्यक्ति १० लाखदेखि ५० लाख रुपैयाँसम्म असुलिएको उजुरी प्रहरीमा छ। कार्यदलको उद्देश्य नै नक्कली भुटानी शरणार्थी खडा गरेर विदेश लैजाने देखिएको भन्दै प्रहरीले कार्यदलका सदस्यलाई समेत अनुसन्धानमा खिचेको छ।

केशव दुलाल, सन्देश शर्मा, सानुराम भण्डारी, टेक गुरुङ र सागर थुलुङले गृह प्रशासन, नेता र अमेरिका जान चाहनेबीच बिचौलियाको भूमिका खेलेको आरोप छ। उनीहरू प्रहरी हिरासतमा छन्।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई र गृहसचिव टेकनारायण पाण्डेले यो समूहलाई सघाएको प्रहरीको भनाइ छ। पूर्व मन्त्री एवं नेकपा (एमाले) सचिव टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा फरार छन्। पूर्व गृहमन्त्री बालकृष्ण खाण अनुसन्धानको दायरामा छन्।

यद्यपि आरजु राणाले प्रतिनिधि सभाको बैठकमा बोल्दै अडिओ महिलालाई तल पार्ने उद्देश्यले आएको बताएकी छन्। उनले आफूमाथि लागेको आरोप अस्वीकार गरेकी छन्।

प्रकाशित मिति: २४ बैशाख २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com