काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा दोषीलाई छोड्ने र निर्दोषलाई फसाउने खेल भए त्यसकाविरूद्ध आफू र आफ्नो पार्टी दृढतापूर्वक उभिने बताएका छन्।

बिहीबारको केन्द्रीय समितिको बैठकमा अध्यक्ष ओलीले शरणार्थी प्रकरणमा निष्पक्ष छानविन हुनुपर्ने बताउँदै दोषीलाई छोडेर निर्दोषलाई फसाउने खेल भए आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

advertisement

‘दोषीलाई छोड्न खोजियो भने दृढतापूर्वक त्यसको विरूद्ध उभिन्छौं। आन्दोलनमा उत्रिन्छौं,’ उनले भने, ‘निर्दोषलाई फसाउन खोजियो भने त्यसमा पनि हाम्रो समर्थन रहँदैन, हाम्रो विरोध हुन्छ। निर्दोषलाई दोषी बनाउन खोज्नु अर्को अपराध हो।’

उनले सरकारी पक्ष कसलाई जोगाउने र कसलाई समात्ने भन्ने खेलमा लागेको बताए। टोपबहादुर रायमाझी र उनका छोराविरूद्ध पक्राउ पुर्जी जारी हुँदा केही मानिसहरूले चम्कीचम्की वक्तव्यबाजी गरेको ओलीले बताए।

‘तर म संयमित भएर  प्रधानमन्त्रीलाई नै भेटेर दोषी नउम्कियोस्, निदोर्ष नफसुन् भनेको थिएँ,’ ओलीले भने।

उनले अहिलेको परिस्थितमा यो विषय प्रधानमन्त्री र गृहमन्त्रीको हातमा नरहेको समेत बताए।

‘अहिले हिरो हुन खोजिराछन् कोही मान्छेहरू । म कुनै हालतमा छोड्दिनँ भन्छन्,’ उनले भने,‘उनका हातमा भएको भए हिजो यो मुद्दा चल्थ्यो? मान्छे गिरफ्तार हुन्थे?’

ओलीले यस प्रकरणमा जेठ ३० गते पक्राउ परेका व्यक्तिहरू छोडिनुको कारणबारे समेत अनुसन्धान हुनुपर्ने बताए।

त्यतिबेला मुख्य अभियुक्त नै पक्राउ परेको र राजनीतिक दबाबमा छाडिएको विषय र अहिले घटनाको अनुसन्धानमा भइरहेको प्रगति हेर्दा पनि अब भुटानी शरणार्थीको विषय सरकारको हातमा नरहेको पुष्टि हुने उनले बताए।

‘जेठ ३० गते पक्राउ परेका मान्छेहरू किन छोडिए। कसको आदेशमा छाडियो ?’ ओलीले प्रश्न गरे, ‘त्यतिबेला एमाले सरकारमा थियो ? केपी ओली प्रधानमन्त्री थिए?’

 

प्रकाशित मिति: २८ बैशाख २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com