काठमाडौं । देशको दोस्रो ठूलो दल नेकपा एमालेमा संघीय प्रणालीमाथिको वहसले औपचारिक प्रवेश पाएको छ । पार्टीको जारी केन्द्रीय समिति बैठकमा दुई प्रभावशाली केन्द्रीय सदस्यले संघीयतासम्बन्धी पार्टीको नीति पुनरावलोकन गर्नुपर्ने मत अघि सारेका छन् ।

समूहगत छलफलका क्रममा केन्द्रीय सदस्यद्वय गोकुल बास्कोटा र महेश बस्नेतले संघीय प्रणाली देशहितमा नभएको भन्दै पार्टीले अब नयाँ दृष्टिकोण बनाएर जानुपर्नेमा जोड दिए । उनीहरु दुवै बागमती समूहमा थिए । समूहका सदस्यहरुले राखेको मतलाई समूह नेताले केन्द्रीय समिति वैठकमा पेश गर्ने प्रावधान छ ।

advertisement

यसअघि सामाजिक सञ्जालमा पनि बारम्बार संघीयता खारेजीको आवाज उठाइरहेका बास्कोटाले पार्टीमा भने पहिलोचोटि जोडदाररुपमा उठाएका हुन् । जनमानसमा नै संघीयताप्रति वितृष्णा उब्जिएकाले पार्टीले अब संघीयताको विपक्षमा आफूलाई उभ्याउनुपर्ने उनले तर्क गरे ।

अर्का नेता बस्नेतले पनि जनभावनालाई बुझेर पार्टीले आफ्नो दृष्टिकोण सच्याउनुपर्ने बेला आएको बताए । संघीयताले देशको व्ययभार बढाएको तर उपलब्धी केही नदिएको उनको भनाइ थियो ।

एमालेमा पछिल्लो समय संघीयता विरोधि अभिमत बलियो बन्दै गइरहेको छ । अनौपचारिक कुराकानीमा थुप्रै नेताहरुले संघीयता नेपालका लागि हितकर नभएको धारणा राख्ने गरेका छन् ।

तर, पार्टीका वैठक वा सार्वजनकिरुपमा भने कमै नेताहरुले मात्रै संघीयताको विरोध गरेका छन् । पार्टी नेतृत्वले भने अहिलेसम्म आफूलाई संघीयताको पक्षमा नै प्रस्तुत गरिरहेको छ । आज केन्द्रीय समिति वैठकमा संघीयता विरोधमा आवाज उठाउनै दुवै केन्द्रीय सदस्यहरु अध्यक्ष केपी ओली निटकका हुन् ।

 

प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com