काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सर्वसाधारणसँग रकम असुली गर्ने संगठित गिरोहका कसैले पनि उन्मुक्ति नपाउने बताएका छन् ।

दोषी नउम्कने र निर्दोष नफस्ने भन्दै उनले जतिसुकै ठूलो दबाब र धम्की आए पनि निश्चित टुंगोमा नपुगेसम्म सरकारले यो प्रकरणबाट हात नझिक्ने श्रेष्ठले बताए । ‘कसैको दबाब र धम्कीसँग डराइन्न’, उनले भने, ‘गिरोहका सबैलाई एकएक गरेर कारबाही गरिन्छ ।’ सार्वजनिक सञ्चार माध्यममामार्फत प्रकरणसँग नाम जोडिएका केही ‘हाइप्रोफाइल’ भनिएकाहरुका विषयमा समेत सुक्ष्म अनुसन्धान भइरहेको उल्लेख गरे ।

advertisement

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहले संगठित ठगी मात्र नभई मुलुकविरुद्ध अपराध गरेकाले कुनै हालतमा उन्मुक्ति नहुने प्रष्टोक्ति उनको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफ्नो बीचकोमा ‘एक्सन’ अघि बढेको भन्दै उनले प्रहरी नेतृत्वको साथ रहेको उल्लेख गरे ।

राष्ट्रघाती र संगठित गिरोहलाई बचाउन सरकार ढाल्ने प्रयास भए आफूहरु जनतामा जाने चेतावनी उनले दिए । ‘यो प्रकरणमा छानबिन अघि बढ्योबढ्यो, कसैले छुट्कारा पाउन सक्ने अवस्था छैन’, उनले भने, ‘प्रधानमन्त्री र मेरो हत्या भएछ वा षड्यन्त्रपूर्वक सरकार ढालिएछ भने छुट्टै कुरा, नत्र हामी पछि हट्नेवाला छैनौं ।’

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सर्वसाधारणसँग रकम असुली गर्ने गिरोहसँग मिलोमतो गरेको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित एक दर्जन व्यक्ति पक्राउ परिसेकका छन् ।

प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझी फरार छन् । अरु ८ जनामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com