काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच अचेल सम्बन्ध ठीकठाक नरहेको चर्चा चल्ने गर्छ । हुन पनि बालेनले बेलाबखत लामिछानेलक्षित आलोचनात्मक टिप्पणी सामाजिक सञ्जालमा गरिरहेका हुन्छन् ।

पछिल्लो पटक चर्चामा रहेको भुटानी शरणार्थी प्रकरणमा पनि यी दुई नवनेताबीच मतभिन्नता देखिएको छ । भुटानी शरणार्थी प्रकरणपछि सुरु भएको भ्रष्टाचारविरोधी आन्दोलनमा रवि लामिछाने सडकमा ओर्लेका छन् । तर बालेन भने सडकमा आन्दोलन गर्नका लागि कसैलाई जनताले नेता नबनाएको टिप्पणी गर्छन् ।

advertisement

भ्रष्टाचारविरुद्ध सडकमा भइरहेको प्रदर्शन र त्यसमा राजनीतिक दलका नेताहरूको सहभागिताप्रति बालेनले विमति जनाएका छन् । उनले यसरी भ्रष्टाचारविरुद्ध आन्दोलन भनेर सडकमा उत्रिनुभन्दा भ्रष्टाचारीलाई कारबाहीको नीति बनाउन लाग्नुपर्ने सुझाव दिएका छन् ।

भ्रष्टाचारी नेता को हो र उसको घर कहाँ हो सबैलाई थाहा भएको भन्दै बालेनले त्यस्ता नेतालाई सिधै बागमतीमा लगेर चोपाल्न पनि आह्वान गरेका छन् । उनले जनताको नेताले सडक नाटक बन्द गरेर भ्रष्टाचारीलाई कारबाही गर्ने नीति बनाउनुपर्ने उल्लेख गरेका छन् ।

लामिछानेलाई लक्षित गरेर बालेनले भनेका छन्, ‘तपाईँहरूलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो ।’

 

प्रकाशित मिति: ३१ बैशाख २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com