काठमाडौं । आइतबार बिहान प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा तीन प्रमुख दलका शीर्ष नेताको बैठक बस्यो।

पछिल्लो समय माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच लगातार भेटवार्ता भइरहेका छन्।

advertisement

आइतबारको बैठकमा सुरूमा तीन नेताहरूमात्र बसेका थिए, पछि तीनै पार्टीका संसदीय दलका उपनेता र प्रमुख सचेतक थपिए।

बैठकमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि पुगे। नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान चलिरहेको र कांग्रेस र एमालेका नेताहरू पनि यसमा मुछिएका बेला तीन शीर्ष नेताहरूबीच बारम्बार भेटवार्ता हुँदा विभिन्न कोणबाट चर्चा भइरहेको छ। नेताहरूले भने संवैधानिक परिषदसम्बन्धी विधेयक, संसदीय समितिको नेतृत्व  र सरकारको नीति तथा कार्यक्रमलगायत विषयमा सहमति जुटाउन बैठक बसिरहेको बताएका छन्।

आजको बैठकमा नेम्वाङले तीन शीर्ष नेताहरू बैठक बस्दा नक्कली भुटानी शरणार्थी प्रकरणबारे कुरा गर्न नै बसे भन्ने बुझ्छन् भनेर कुरा राखेका थिए।

उनले बैठकमा भने- तपाईंहरू तीन नेता बसेपछि जनताले त्यही कुरा बुझ्छन्। पत्रकारले पनि त्यही सोध्छन्। भुटानी शरणार्थी प्रकरणले साह्रै खेदेछ क्या हो? हुन त तपाईंहरू नबस्दा चिन्ता हो बसेर साह्रै राम्रो भएको छ।

आफूले यसो भन्दा तीन नेताहरूले यो विषयमा कानुनअनुसार हुने बताएको नेम्वाङले जानकारी दिए।

‘उहाँहरूले तपाईंलाई कसैले सोध्यो भने कानुनअनुसार कारबाही गर्न प्रतिवद्ध छौं भन्दिनु भन्नुभएको छ,’ नेम्वाङले भने।

आजको बैठकले संसदीय समितिको नेतृत्व, संवैधानिक परिषदसम्बन्धी विधेयक र संक्रमणकालीन न्यायसम्बन्धी कानुनका सन्दर्भमा सहमति जुटाएको पनि  नेम्वाङले जानकारी दिए।

 

प्रकाशित मिति: ३१ बैशाख २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com