काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउने बताउनुभएको छ ।

मङ्गलवार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिसडाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्डलगायतका हत्याकाण्डहरूको अुनसन्धान गरी निचोडमा पुग्ने बताउनुभयो ।

advertisement

प्रधानमन्त्रीले २०४६ सालको जनआन्दोलनपछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणहरूको बारेमा खोजी गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भ्रष्टाचारका काण्ड र ठूला हत्याकाण्डका बारेमा अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउनुपर्ने र यसबारेका शङ्काहरूको छिनोफानो गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले सदनमा पनि भनेको छु, अब भ्रष्टाचारका सबै फाइलहरू खोलिनेछन् । मैले भनेको छु, २०४६ सालको ऐतिहासिक जनआन्दोलनपछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणहरूको बारेमा खोजी गरिन्छ । ठूलाठूला भयानक हत्याकाण्डहरूकाे खोजी गर्नुछ । चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड । त्यसको छिनोफानो भएको छैन । नेपाली नागरिककाे मनमा यसबारेमा शङ्काहरू छन् । के भएको हो भन्ने कुराको सत्य/तथ्य आएको छैन । यी सबै कुराहरू पनि हामीले क्रमशः लगेर नयाँ विश्वास नागरिकमा जगाउनु छ ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नाे भारत भ्रमणका क्रममा बिजुलीकाे बजार क्षमताको ग्यारेन्टी हुने गरी छलफल गर्ने विश्वास व्यक्त गर्नुभयाे । उहाँले भारत भ्रमणमा सीमा विवादकाे समाधान गर्न उपाय खोज्ने र विश्वासको वातावरण बनाउन पहल गर्ने बताउनुभयो ।

 

प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com