काठमाडौँ । नेकपा (एमाले)का सांसद रघुजी पन्तले एमाले सरकार बनाउन नहतारिने तर मौका आए नछोड्ने बताएका छन्।
आइतबार संसदबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै पन्तले सरकारको अहिलेको काम कारबाहीसँग जनता सन्तुष्ट नभएकाले जनताको चाहना एमाले र नेपाली काँग्रेसको सरकार रहेको दाबी गरे ।
‘यो गठबन्धनको सरकार हामीले गिराउनै पर्दैन । उहाँहरूको अन्तरविरोधबाटै सरकार ढल्छ । अहिलेको सरकारको जुन खालको पर्फमेन्स छ, परराष्ट्रमामिलादेखि घरेलुमा र जनतालाई सुविधा दिने कुरामा यो सरकार प्रभावकारी बन्न नसक्दा जनतामा बलियो प्रभावकारी सरकार आओस् भन्ने चाहना छ । एमालेले सरकार बनाउन हतारिनु हुँदैन, मौका आए छोड्नु हुँदैन, ’उनले भने ।
सांसद पन्तले बजेट परिवर्तन हुने सम्भावना नरहेको पनि बताए । उनले नीति कार्यक्रम र बजेट फेल भए सरकार फेल हुने अहिलेसम्मको मान्यता रहेको पनि बताए ।
‘अहिलेसम्मको प्रचलित कुरा के हो भने नीति कार्यक्रम फेल भयो भने र बजेट फेल भयो भने सरकार फेल हुन्छ भन्ने मान्यता छ, त्यो मान्यतालाई फेर्ने प्रयत्न गरेको, सरसल्लाह गरेको जस्तो त लाग्दैन । बजेटमा परिवर्तन पनि हुँदैन । बजेट पास गरिसकेपछि परिवर्तन गर्नुहोला त्यो उहाँहरूको कुरा भयो । तर सामान्यतया संसद्बाट पारित गरेको बजेट हेरफेर गर्न नमिल्ने हो, ’पन्त भन्छन् ।
प्रकाशित मिति: १० असार २०८०, आइतबार












प्रतिक्रिया