काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)लाई वारेसको सुविधा दिन अस्वीकार गरेको छ ।
अदालतको अवहेलना गरेको आरोप खेपिरहेका साहले मुद्दाको तारिख खेप्नका लागि वारेसको सुविधा मागेर सर्वोच्च अदालतमा निवेदन दिएकोमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरि फूयालको इजलासले ‘मागबमोजिम नहुने’ भनी आदेश गरेको हो।
उक्त आदेशपछि मेयर शाह हरेक पटक आफैँ अदालतमा उपस्थित भएर मुद्दाको तारिख लिनुपर्नेछ भने सुनुवाइका दिन अदालतमा अनिवार्य उपस्थित हुनुपर्नेछ । वारिस राख्ने सुविधा पाएको भए उनले मन्जुरीनामा दिएको व्यक्तिले पनि तारिख लिन सक्थ्यो।
भारतीय सिनेमा चलाउन दिन रोक लगाएकोबारे परेको एक मुद्दामा उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । त्यसबारे मेयर साहले अदालत समेत भारतको प्रभावमा परेर आदेश गरेको सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए ।
उक्त टिप्पणीमाथि प्रश्न उठाउँदै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा साहमाथि अदालतको अवहेलनाको आरोपमा उजुरी दिएसँगै सर्वोच्चले मेयर साहलाई यसबारे जवाफ पठाउन आदेश दिइसकेको छ ।
प्रकाशित मिति: २६ असार २०८०, मंगलबार












प्रतिक्रिया