काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरू कुनै पार्टीको पनि पछि नलागेको बताएका छन्।
संसदीय पत्रकार मञ्चका नवनिर्वाचित पदाधिकारीको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै लामिछानेले आफूहरूले स्वतन्त्र रूपले निर्णय गरिरहेको बताए।
आफूहरू पुस १० को सहमतिमा सकुन्जेलसम्म टिकेको भन्दै लामिछानेले सहमति नै टुटेपछि सरकारमा बसिरहनु आवश्यकता नभएको बताए। राष्ट्रपति चुनावमा रामचन्द्र पौडेललाई सघाउने निर्णय गर्दा सत्तामै जान लाग्यो भनेर टिप्पणी गरिएको र अहिले प्रतिपक्षमा रहँदा एमालेको पछि लागेको आरोप लगाउने गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
‘अहिले प्रतिपक्षमा एमाले हामीभन्दा ठूलो दल भएको हुनाले एमालेको पछि लाग्यो भन्ने ट्याग निर्माण गर्न खोजिएको छ। हामी एमालेको पछि लाग्ने होइन।’ उनले भने‚‘हामी त जनताको मुद्दाको पछि लाग्ने हो‚ न हिजो हामी काँग्रेसको पछि थियौँ। न माओवादीको पछि हौँ। न एमालेको पछि हौँ। प्रतिपक्षी बेञ्चमा एमाले सँगै छौँ। जनताका जीविकाका साझा मुद्दा पनि होला। अलग मुद्दा पनि हुन्छन्।’
आफूहरू स्थायित्वको पक्षमा रहेको भन्दै लामिछानेले समीकरण फेरबदलको रेसमा नभएको बताए ।
प्रकाशित मिति: २८ असार २०८०, बिहिबार












प्रतिक्रिया