काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हिन्दु राष्ट्रको मुद्दा उठाउनु स्वार्थ र सत्तासँग केन्द्रित विषय नभएको दाबी गरेका छन् ।
नेपाल सनातन धर्म संस्कृति संगठनद्वारा आयोजित सनातन हिन्दु राष्ट्रका लागि पदयात्रा कार्यक्रममा सहभागी भएका लिङदेनले हिन्दु राष्ट्रको मुद्दा बहुसंख्यक नेपालीहरूले उठाएको मुद्दा भएकाले उनीहरूलाई बुझाउनका लागि पदयात्रा गरेको बताए ।
‘हिन्दु राष्ट्रको मुद्दा उठाउनु स्वार्थ र सत्तासँग केन्द्रित विषय होइन । राजतन्त्र फर्किने कुरा जनतामा निर्भर हुने कुरा हो, धेरै जनता हाम्रो मुद्दामा सहमत हुनुहुन्छ, पुनः स्थापना हुन सम्भव छ,’ लिङ्देनले भने ।
राप्रपाले सनातन, धर्म, संस्कृतिको रक्षार्थ जनचेतना जगाउने र हिन्दु राष्ट्र अभियान सञ्चालनका लागि जनचेतना फैलाउने उद्देश्यले पदयात्रा गरेकाले आगामी दिनमा थप कार्यक्रम गर्दै जाने लिङ्देनको भनाइ छ ।
शान्तिपूर्ण बाटोबाट आफूहरूले नेपालमा हिन्दु राष्ट्र पुनर्स्थापना चाहेको लिङ्देनले बताए । विगतमा भावावेश र विदेशीको दबाबमा आएर हिन्दु राष्ट्र हटाइए पनि अब सच्चिन राजनीतिक दलहरूलाई उनको आग्रह थियो ।
‘शान्तिपूर्ण बाटोबाट हामी नेपालमा हिन्दु राष्ट्र पुनर्स्थापना चाहन्छौँ । हामीले अन्य राजनीतिक दलसँग पनि कुरा गरिरहेका छौँ,’ लिङ्देनले भने, ‘विगतमा भावावेशमा आएर अथवा विदेशीको दबाब र प्रभावमा परेर गरेको निर्णय गलत छ, गलत बाटोले देशलाई कुनै निष्कर्षमा लैजान सक्दैनौँ । जुनसुकै बाटोबाट भए पनि हिन्दु राष्ट्र कायम हुनुपर्छ भनिरहेका छौँ ।’
राजतन्त्र फर्किने कुरा जनतामा निर्भर हुने भएकाले जनताले राप्रपाको मुद्दामा समर्थन गरिरहेको लिङ्देनको दाबी छ । राप्रपाले मैतीदेवीदेखि पशुपतिनाथसम्म पदयात्रा गरेको हो ।
प्रकाशित मिति: १ श्रावण २०८०, सोमबार












प्रतिक्रिया