काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी लडाकु शिविर (क्यान्टोन्मेन्ट) मा भएको घोटालाको पनि छानबिन हुनुपर्ने बताएका छन् ।

पार्टीले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा नेता भट्टराईले क्यान्टोन्मेन्ट घोटालासहित विमान घोटालासम्म सबैको उच्चस्तरीय छानबिन हुनुपर्ने बताए ।

advertisement

विगतमा भट्टराईले लडाकु शिविरमा घोटाला भएको बताउने गरेको तर अहिले चुप लागेको भन्ने पत्रकारको प्रश्नमा उनले व्यक्ति हेरेर एउटा एउटा भन्दा पनि सबै भ्रष्टाचारको छानबिन गरी निकर्षमा पुर्‍याउनुपर्ने बताए ।

आफू सत्तामा हुँदा विपक्षीलाई तर्साउन फाइलहरू खोल्ने गरिए पनि ठूला दलहरुबीच लाभका पदहरूमा भागबण्डा गरेर अनुसन्धान बीचमै सामसुम हुने गरेको भट्टराईले आरोप लगाए ।
‘आफू सत्तामा हुँदा विपक्षीलाई तर्साउन विषय उछाल्ने परिपाटी छ, तर ठुला तीन दल साँठगाँठ गरेर भागबण्डामा कुरा मिलाउँछन्, अनि अनुसन्धान सामसुम हुन्छ’, भट्टराईले भने, ‘अहिलेको सरकारले गरिरहेका अनुसन्धान पनि सरकारलाई निल्नु न ओकल्नु भएको छ, निष्कर्षमा पुग्छन् भन्ने विश्वास छैन ।’

ललिता निवास जग्गा प्रकरणमा आफूले छानबिनमा सघाउने र खुशीसाथ बयान दिन जाने उनले बताए ।

‘मैले त विगतदेखि नै सबै खाले भ्रष्टाचारको शक्तिशाली आयोग बनाएर उच्चस्तरीय छानबिन गरौँ भन्दै आएको हुँ, ललिता निवास जग्गा प्रकरणमा पनि बयानका लागि तयार छु, जानेको बुझेको बताउँछु’, उनले भने ।

सय केजी सुन तस्करी प्रकरणमा नेकपा एमालेले उच्च स्तरीय छानबिन समिति गठनको माग गर्नु गलत नभएको भट्टराईले बताए ।

पत्रकारको प्रश्नमा नेता भट्टराईले लुम्बिनी विकास कोषमा चरम विवादित व्यक्ति ल्हारक्याल लामालाई नियुक्त गर्नु ठिक नभएको बताए ।

प्रकाशित मिति: २६ श्रावण २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com