काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणा देउवाले किसानहरु बाँदरबाट पीडित रहेको भन्दै बाँदर नियन्त्रणका लागि नयाँ उपायको खोजी गर्नुपर्ने बताएकी छिन्।

सिंहदरबारमा आइतबार बसेको समितिको बैठकमा उनले बाँदरको संख्या घटाउनका लागि परिवार नियोजन पनि विकल्प हुनसक्ने धारणा राखेकी छन् ।  सांसदहरुले बाँदर तथा बँदेलले अन्नबालीमा क्षति पुर्याएका कारण उत्पादन घटेको, किसान भोकमरीको सिकार हुने अवस्था रहेको भन्दै क्षतिपूर्ति दिलाउन समिति लाग्नुपर्ने बताएपछि सभापति राणाले बाँदर नियन्त्रणका लागि नयाँ उपायहरु खोजी गर्नुपर्ने बताएकी हुन् ।

advertisement

उनले भनिन्–‘यो संवेदनशील विषय हो किनभने मानिसको खाना नै क्षति भइरहेको छ । बाँदरको पहिलादेखि समस्या थियो, बँदेलको पनि समस्या रहेछ । मानिस र जनावरको द्धन्द्धमा के चाहीँ गरिराछ ? संरक्षण गर्नु राम्रो हो, म एकदमै संरक्षण अभियन्ता नै हो । तर मान्छेले खान नपाउनेगरी संरक्षण गरेर त फाइदा छैन ।’

सभापति राणाले अगाडि भनिन– ‘कलिङको एउटा प्रिन्सिपल हामीले ल्याउनुपर्यो । किनभने बँदेल त खान्छ नी मान्छेले, बाँदर त खाँदैन । बाँदरलाई त फ्यामेली प्लानिङ गरे हुने रहेछ । भारतको हिमाञ्चल प्रदेशमा त त्यही गरेको रहेछ । उनीहरुको पनि हाम्रोमा जस्तै समस्या थियो रे, परिवार नियोजन गरेर दुई तिन बर्षमा नियन्त्रण भएछ । त्यसकारण हामीले वन्यजन्तु विभागलाई केही चाँही गरेर ल्याउ भन्नुपर्यो । मान्छेले खानै नपाउने भएपछि समस्या भयो ।’

उनले विदेशमा शिकार गर्ने समय तय गरेको हुने तर नेपालमा भने त्यस्तो व्यवस्था नभएकोले वन्यजन्तुको व्यवस्थापन राम्रो हुन नसकेको बताइन् । सांसद दिक्पाल शाहीले बँदेलले एकपटकमा १२ वटा सम्म बच्चा पाउने गरेको बताउँदै बँदेलको संख्या बढेका कारण किसानको बाली नष्ट गर्ने गरेको बताए ।

उनले बाँदर र बँदेलले नष्ट गरेको अन्नबालीको किसानलाई राहत दिनुपर्ने व्यवस्था गर्नुपर्ने बताउँदै आफ्नो जिल्लामा किसान भोकमरीमा पर्ने अवस्थामा रहेको बताए । अष्ट्रेलियामा खरायो र श्रीलंकामा बाँदर नियन्त्रण गरेको शैलीमा नेपालमा पनि बाँदर बँदेल नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: १७ भाद्र २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com