रासस । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थलमा कुहिने र नकुहिने फोहर व्यवस्थापनका लागि छुट्टा-छुट्टै गरी एक हजार नौ सय ५० सेट फोहर सङ्कलन बिन (डस्टबिन) राख्ने भएको छ ।

महानगरको वातावरण विभागका अनुसार एक सेटमा दुई बिन हुन्छन् । यसमध्ये हरियो बिन कुहिने र रातो बिन नकुहिने फोहर व्यवस्थापनका लागि हो ।

advertisement

‘उत्पादन भएकै ठाउँमा फोहरलाई छुट्याएर प्रकृतिअनुसार छुट्टा-छुट्टै व्यवस्थापन गर्ने योजनाअनुसार बिन राख्न लागिएको हो,’ वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले भने । उनका अनुसार सबै बिन विभागमा ल्याइसकिएको र वडाको माग तथा आवश्यकताअनुसार वितरण गर्ने तयारी छ ।

स्रोतमा नै कुहिने र नकुहिने फोहर छुट्टा-छुट्टै सङ्कलन भयो भने व्यवस्थापनमा सहज हुने उनको भनाइ छ । महानगरपालिकाका सबै स्थानमा एकैपटक काम गर्दा परिणाम प्राप्त गर्न कठिन हुने भएकाले नमुनाका रुपमा अहिले वडा नं २७ र त्यसपछि अन्य वडामा उक्त बिन राख्ने काम गरिने प्रमुख श्रेष्ठले बताए ।

यसका लागि घरदैलो कार्यक्रममार्फत् उत्पादकलाई फोहर वर्गीकरण विधिमा सचेत गराउने काम पनि महानगरले गरिरहेको छ । वर्गीकरण गरिएको फोहर छुट्टा-छुट्टै व्यवस्थापन गर्न रङ सङ्केतसहितको सवारीसाधन तयारी अवस्थामा राखिएको पनि उनले बताए ।

घरघरमा फोहर वर्गीकरण गरेजस्तै सार्वजनिक स्थलमा उत्पादन हुने फोहरलाई पनि कुहिने र नकुहिने गरी छुट्टा-छुट्टै भाँडामा सङ्कलन गरी दीगोरुपमा फोहर व्यवस्थापन गर्न लागिएको हो । यसरी राखिने सेट दुई प्रकारका छन् । पहिलो सेट सानो आकारको रहेको जनाइएको छ ।

सोमा राखिने एउटा बिनको क्षमता ७० लिटरको हुनेछ । एक दशमलव दुई मिटर उचाइ, एक दशमलव २३ मिटर चौडाइ र २५ दशमलव ५५ किलोग्राम तौलको फलामे स्ट्यान्डमा बिन राखिने छ । यसमा राखिने स्ट्यान्डको मूल्य रु पाँच हजार एक सय ५० र डस्टबिन प्रतिगोटा मूल्य रु दुई हजार नौ सय ५० पर्नेछ ।

मध्यम आकारका सेटमा एक दशमलव तीन मिटर चौडाइ र एक दशमलव चार मिटर उचाइ भएको स्ट्यान्ड हुनेछ । एक सय २५ लिटर क्षमताका दुई वटा बिन राखिने छन् । यसमा प्रयोग हुने स्ट्यान्डको मूल्य रु पाँच हजार चार सय ५० र बिनको मूल्य रु तीन हजार आठ सय ९० हो । राखिएका सबै बिनको संरक्षणको जिम्मा सम्बन्धित वडाले लिने बताइएको छ ।

प्रकाशित मिति: ५ फाल्गुन २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com