काठमाडौं । दरबारमार्ग स्थित श्री चतुर्व्यूह नारायण धाम परिसरमा ‘चतुर्व्यूह नारायण धाम वृहत धार्मिक महोत्सव’ हुने भएको छ।
नारायणहिटी स्थित श्री चतुर्व्यूह नारायण धाम परिसरमा वैदिक वैज्ञानिक सनातन शास्त्रयुक्त शिक्षालय निर्माणको निमित्त अक्षयकोष स्थापनार्थ तथा राष्ट्र शान्तिको कामना गर्दै यही मिति वैशाख ४ गते देखि १२ गते सम्म श्री चतुर्व्यूह नारायण धाम वृहत धार्मिक महोत्सव हुने भएको हो।
सामाजिक अभियन्ता दिपककुमार केसी संयोजक, प्रभात सिंह बस्नेत सहसंयोजक तथा ईशा खडका सदस्य-सचीव रहेको ५१ सदस्यीय महोत्सव आयोजना मुल समारोह समिती गठन भएको छ। सु-प्रसिद्ध अन्तर्राष्ट्रिय आध्यात्मिक प्रवचक तथा नारायणहिटी दरवार धाम पिठाधिस श्री चतुर्व्यूह नारायण र सुप्रसिद्ध कथावाचक व्यासाचार्य पं. श्री वासुदेव घिमिरेको मुखारविन्दबाट कथा वाचन तथा प्रवचन हुने आयोजकले जनाएको छ।
महोत्सव आयोजना मुल समारोह समितीका प्रचार प्रमुख राजानन्द माण्डब्यले उक्त धार्मिक महोत्सवमा रामायण कथा वाचन तथा वैदिक वैज्ञानिक प्रवचनका साथै सामुहिक व्रतबन्ध, पितृमोक्ष, तुलादान, १००८ शालग्राम परिक्रमा, चौरासी कर्म, रुद्राभिषेक, ग्रहजाप, लक्ष्यवर्तिका, राज्याभिषेक कर्म हुने जानकारी दिएका छन। उक्त सामुहिक कर्ममा सरिक हुनको लागि सम्पर्क गर्न आयोजकले सबैमा आव्हान गरेको छ।
नारायणहिटी धामको धार्मिक तथा ऐतिहासिक महत्व निकै ठुलो भएपनी उक्त क्षेत्र सुनसान देखिन्छ।

प्रकाशित मिति: १ बैशाख २०८१, शनिबार













प्रतिक्रिया